सुन चोरी गरेर धितो राखी लोन लिने एक महिला पक्राउ

सुन चोरी गरेर धितो राखी लोन लिने एक महिला पक्राउ


लमजुङ ।

सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका(७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो ।

चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एकरएक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले बताए ।

प्रहरीले उनले नेपाल बैंक लिमिटेडबाट ऋण समेत लिएको खुलेको छ । उनले चोरी गरिएको सुन धितोमा राखेर ऋण लिएको थाहा भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

‘गोल्ड लोन भनेर लिएको पायौं। चोरी भएको करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएपछि पक्राउ गरेका हौं,’ सिर्मलले भने।

बैंकले पनि कुनै बिलबिना नै उक्त सुन धितोमा राखेको पाइएको छ। यसरी बैंकमा राखेको भेटिएपछि प्रहरीले उनको कोठामा पनि तलासी लिएको थियो। जहाँबाट बाँकी चोरिएका गहना बरामद भएको थियो।