बालेनको ‘आगो’ स्टाटसलाई डा. कोइरालाले भने-अराजक अभिव्यक्ति

बालेनको ‘आगो’ स्टाटसलाई डा. कोइरालाले भने-अराजक अभिव्यक्ति


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्ति र राजनीतिक शीर्ष नेतृत्वको अभिव्यक्तिले देशमा अराजकता बढेको संकेत गरेको बताएका छन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले देशको कार्यकारी पदमा बस्नेले अराजक अभिव्यक्ति दिनै नमिल्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरका मेयर बालेन शाहले केही समयअघि अराजक अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।

प्रधानमन्त्री प्रचण्ड र काठमाडौँ महानगरका मेयरको अभिव्यक्तिलाई पार्टीले गम्भीर रूपमा लिएर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

‘देश अराजकतातिर बढ्न गएको खबर छ, २-३ दिन पहिले काठमाडौँका मेयरले जुन बोल्नुभयो, एउटा देशको सबैभन्दा ठुलो महानगरको मेयरले त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन, यसरी देश चल्दैन,’ उनले भने ।

कर्मचारी देशको स्थायी सरकार भएको भन्दै नेता कोइरालाले कर्मचारीका समस्याबारे पार्टीले कर्मचारीहरूसँग छलफल गर्नुपर्ने पनि बताए ।