४ ब्राण्डका चर्चित गाडी नाडा अटो शोमा नआउने

४ ब्राण्डका चर्चित गाडी नाडा अटो शोमा नआउने


काठमाडौं । 

आगामी हप्तादेखि नाडा अटो शो २०२३ सुरु हुँदै छ ।

सवारीसाधनको कुम्भ मेला मानिने अटो शोमा नयाँ पुराना गरि विभिन्न कम्पनीका गाडीहरू प्रदर्शनमा राखिने छन् ।

यस पटकको नाडा अटो शो मा दर्जन भन्दा बढी ब्रान्डका आफ्नो नयाँ मोडल देखिन पाइने छ ।

केही कम्पनीहरूले कम्बसन इन्जिन भएका गाडीको प्रदर्शन रोकेर नयाँ इभी मोडल समेत भित्र्याएका छन् ।

पछिल्लो समय बजारको अवस्था र इन्धनबाट चल्ने गाडीको व्यापारमा आएको गिरावटले धेरै व्यवसायीहरूले नाडा अटो शोमा सहभागी नहुने भएका छन् ।

कोभिड पछाडि कम्बसन इन्जिन गाडीहरुको व्यापार ह्वातै बढेपनि सवारी आयात प्रतिबन्धपछि इन्धनबाट चल्ने प्यासेन्जर गाडीको बिक्री शुन्य जस्तै छ ।

खासगरी चर्चित र मुख्य आकर्षणका रुपमा हेरिएका ४ ब्राण्डका गाडी शो मा नदेखिने भएका छन् ।

टोयोटा, फक्सवागन, अमेरिकी ब्राण्ड जिप र दुई पाँग्रे सवारी ब्रान्ड यामाहाले हालै नयाँ प्रोडक्ट ल्याउन नसकेको बताउँदै सहभागी नहुने भएका छन्  ।

नाडा अटोमोबाइल एशोसियसनले  पत्र पठाउदै यी ब्राण्डका गाडीहरू शो मा नआउने बताएको हो ।

टोयोटा र जिप नेपाली बजारमा सर्वाधिक लोकप्रिय र बिक्री हुने गाडी ब्रान्डमा पर्छन् ।

नेपालका लागि टोयोटा गाडी वैद्य समूह अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएर बिक्री गर्दै आएको छ भने जिप एमएडब्ल्यु नेपालले बिक्री वितरण गर्दै आएको छ ।

टोयोटासँग हाल ल्याण्डक्रुजर, प्राडो, फर्चुनर, र्याभफोर, कोरोला क्रस, हाइलक्स र राइज जस्ता मोडल बिक्री गर्दै आएको छ । यी मोडेलहरू नेपाली बजारमा पहिलेदेखि नै देखिँदै आएका छन ।

फक्सवागेन विश्वकै ठूलो मध्येको एक उत्पादक भएपनि नेपालमा खासै बजार विस्तार गर्न सकेको छैन । केही मोडल मात्रै उपलब्ध हुँदै आएको फक्सवागेन नयाँ ब्रान्डकै कारण सहभागी नभएको बुझिएको छ ।