केहीको गलत नियतल पूरै सहकारी क्षेत्रमाथि प्रश्न उठ्यो : अध्यक्ष कडेँल

केहीको गलत नियतल पूरै सहकारी क्षेत्रमाथि प्रश्न उठ्यो : अध्यक्ष कडेँल


काठमाडौं ।
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कडेँलले केही सहकारीको गलत नियतका कारण सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको गुनासो गरेका छन् ।

नेपाल सहकारी पत्रकार समाजको १३औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले पछिल्लो समय केही सहकारीमा समस्या आएकै कारण पूरै सरकारी क्षेत्रमाथि नै प्रश्न उठेको टिप्पणी गरेका हुन् ।

‘पछिल्लो समय केही संस्थामा समस्या आएको छ, त्यसका कारण यस क्षेत्रमा अहिले प्रश्नचिह्न खडा भएको छ । र, वर्तमान अवस्थाका कारण तरलतामा चाप पनि परेको छ,’ उनले भने, ‘केही संस्था गलत नियतका साथ काम गरेका व्यक्तिहरूलाई कारबाही गर्नुपर्छ ।’

नेपालले सहकारी क्षेत्रलाई आर्थिक र सामाजिक रुपान्तरणका लागि मूल कानुनमा राख्न सफल भएको उनले बताएका छन् ।

अरू मुलुकमा सरकार र निजी क्षेत्रको मात्रै कुरा आउँदा नेपालले सहकारीलाई ३ खम्बे अर्थनीतिमा राखेको भन्दै यसको माध्यमबाट मुलुकलाई समाजवादसम्म लानुपर्ने बताए ।

उनले सहकारीलाई एउटा बलियो खम्बा बनाउन सबैको भूमिका आवश्यक भएको भन्दै गरिबी न्यूनीकरणमा पनि सहकारीको भूमिका महत्वपूर्ण देखिएको बताए ।

उनले भने, ‘नेपालमा ३२ हजार सहकारीमा ७४ लाख सदस्य छन्, जसमध्ये ५६ प्रतिशत महिलाहरू हुनुहुन्छ । ८ खर्बभन्दा बढी पुँजी परिचालित भएको छ । यसले आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणको क्षेत्रमा परिवर्तन ल्याएर जनताको जीवनस्तर बदल्न ठुलो भूमिका खेलेको छ ।’