वालिङमा ब्लड बैंक स्थापना

वालिङमा ब्लड बैंक स्थापना


स्याङ्जा ।
स्याङ्जाको वालिङस्थित गह्रौँ अस्पतालमा रक्तसञ्चार एकाइ केन्द्र स्थापना गरिएको छ ।

६२औँ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वालिङमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।

जिल्लाको मध्य भागमा रहेको उक्त अस्पतालमा बिरामीको चापसँगै रगत अभावका कारण पोखरा जानुपर्ने अवस्था सिर्जना भएपछि रक्त सञ्चार एकाइ स्थापना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख खाँणले केन्द्रको स्थापना गर्न भन्दा पनि यसको निरन्तरता कठिन हुने बताए । यहाँका नागरिक रगतकै कारण थप उपचारका लागि पोखरा र पाल्पा जान बाध्य हुने अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको केन्द्रको निरन्तरताका लागि स्थानीय सरकारले आवश्यक सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकको मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले सीमित साधन स्रोतको प्रयोग गरी उपचारमा कुनै कठिनाइ हुन नदिने खाँणले जिकिर गरे ।

स्याङ्जासहित पर्वत, गुल्मी, पाल्पालगायत जिल्लाका केही पालिकाका नागरिकले समेत उपचार सेवा लिँदै आएको अवस्थामा रक्त संकलन केन्द्रको स्थापनाले ठुलो राहत मिल्ने बताइएको छ ।
स्वास्थ्य, शिक्षासहित न्यायमा पनि नागरिकलाई सरकारले निःशुल्क गर्नुपर्ने धारणा पूर्व नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले राखे ।

रक्त सञ्चार केन्द्र सञ्चालनका लागि अस्पतालले २ जना कर्मचारी र नगरपालिकाले १ जना कर्मचारीको व्यवस्था गरिएको उनले जानकारी दिए । अस्पतालले शल्याक्रिया सेवा सुरु गरेका र वालिङमै डाइलाइसिस सञ्चालन भइरहेकाले रगत आवश्यक पर्ने बिरामीका यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने खाँणले बताए ।

ब्लड बैंक स्थापनाकै दिन रक्तदानसमेत गरिएको थियो । रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री खगेन्द्र अर्यालका अनुसार १६ जनाले रक्तदान गरे ।

उद्घाटन कार्यक्रममा रेडक्रसका जिल्ला सभापति दिनेश अर्याल, उपसभापति लक्ष्मी थापा र सदस्य विष्णु गैरेलगायतले रेडक्रस सधैँ विपद्को सारथी रहेको बताएका थिए । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने नारासहित स्याङ्जा शाखाले हरेक नागरिकको समस्यामा साथी बनेर काम गर्दै आएको बताए ।