बेलकामा किन टिक्दैनन् ‘हाकिम’ ?

बेलकामा किन टिक्दैनन् ‘हाकिम’ ?

डेढ वर्षमा ४ पटक फेरिए प्रशासकीय अधिकृत


काठमाडौँ ।

उदयपुरको बेलका नगरपालिकामा कर्मचारी र जनप्रतिनिधबीचको द्वन्द्वका कारण पालिकाबाट हुने दैनिक सेवा प्रवाहमा असर परेको छ । कर्मचारी र जनप्रतिनिधि मिल्न नसक्दा बेलकाका आमनागरिकले दुःख पाइरहेका छन् ।

गत साउन ३२ गते बेलका नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीचको द्वन्द्व सतहमा आएको थियो । जनप्रतिनिधिहरूले करारका कर्मचारीले हाजिर नगर्ने गरेको आरोप लगाउँछन् भने कर्मचारीहरू जनप्रतिनिधिको आरोप मान्न तयार छैनन् ।

के हो विवाद ?

संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिकामा नेकपा एमालेका दुर्गाकुमार थापा मेयर निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा नगरपालिकामा मेयर थापाले अनधिकृत रूपमा करारका कर्मचारी राखेको भनेर त्यसबेला नै कांग्रेसले विरोध गरेको थियो ।

दोस्रो निर्वाचनमा कांग्रेसबाट अशोक कार्की मेयर बनेसँगै यसअघि राखिएका अनावश्यक कर्मचारी हटाउने भन्दै आएका थिए । केही समयअघि बेलकाले करारमा रहेका केही कर्मचारीको करार सम्झौता नवीकरण गरेन । त्यहीँबाट कर्मचारी र मेयरबीच टसल सुरु भएको हो ।

पछिल्लो समय साउन ३१ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नयाँ आएका प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको र हाजिर खाता नै मेयरको सचिवालयमा लगेर राखिएको समाचार बाहिरिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा मेयर कार्कीले ताला लगाएको भनेर पनि चर्चा चलेको थियो ।

यसरी सामाजिक सञ्जाल र स्थानीय मिडियामा समाचारहरू आउन थालेपछि गत भदौ १ गते बेलका नगरपालिकाका प्रवक्ता पदम खड्का र नगर प्रमुख अशोक कार्कीका निजी सचिव मोहन कार्कीले विज्ञप्ति नै निकालेर हाजिर गर्न नदिएको नभई कतिपय कर्मचारीले हाजिर नै नगर्ने गरेको बताएका थिए ।

‘…धेरैजसो कर्मचारीले हाजिर गरेको, कतिपयले नियमित हाजिर नै नगर्ने गरेको र कतिपयले हाजिर नगरेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

करारका कर्मचारीहरूले हाजिर नगर्ने गरेको नगर प्रवक्ता तथा बेलका–९ का वडाध्यक्ष पदम खड्का बताउँछन् । ‘हामीले दैनिक रूपमा हाजिर खाता हेर्ने कुरा पनि आएन । तर, एक पटक हामीले हाजिर खाता हेर्दा कर्मचारीले हाजिर नै नगरेको भेटियो,’ खड्काले विकास टाइम्ससँग भने ।

तर, साउन ३२ गते कर्मचारीले हाजिर गर्ने खाता नगर प्रमुखको सचिवालयमा राखिएकाले कर्मचारीले हाजिर नगरेको स्रोतको भनाइ छ । ‘त्यस दिन हामीले हाजिर गर्ने खाता नगर प्रमुखको सचिवालयमा राखिएको थियो,’ बेलकाका एक कर्मचारीले विकास टाइम्ससँग भने, ‘यसो हेर्दा त्यो सामान्य लाग्न सक्छ । आखिर के भयो र त्यहाँ गएर हाजिर गर्दा भने जस्तो हो । तर, मेयरज्यूको कार्यकक्ष भनेको फरक कुरा हो । तर, मेयरको सचिवालय फरक हो ।’

कर्मचारीले नियमित रूपमा हाजिर गर्ने गरेको बेलकाका सूचना अधिकारी चेतनाथ गौतम बताउँछन् । सवारी चालक केहीले नियमित हाजिर नगर्ने हुन सक्ने भए पनि अन्य कर्मचारीले नियमित हाजिर गर्ने गौतम बताउँछन् ।

‘प्राविधिक कर्मचारीहरूको नियमित हाजिर नहुन पनि सक्छ,’ गौतमले भने, ‘उनीहरू फिल्डमा २–४ दिनसम्म जानुपर्ने हुन सक्छ । त्यसले गर्दा उनीहरूको नियमित हाजिर हुँदैन ।’

सूचना अधिकृतको कुरामा बेलकाका मेयर अशोक कार्की पनि सहमत छन् ।

बेलकामा बस्नै मान्दैनन् प्रमुख प्रशासकीय अधिकृत

बेलकामा प्रमुख प्रशासकीय अधिकृत छिटो–छिटो फेरिने गरका छन् । मेयरसँगको ‘टसल’का कारण प्रशासकीय अधिकृत टिक्न नसकेको त्यहाँ कार्यरत कर्मचारीहरू नै बताउँछन् । त्यसरी छिटो–छिटो प्रशासकीय अधिकृतहरू परिवर्तन हुँदा पालिकाले दिने सेवा नै प्रभावित भइरहेको कर्मचारी र सेवाग्राहीको गुनासो छ ।

प्रशासकीय अधिकृतहरू परिवर्तन हुनुमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई बताउँछन् । ‘७५३ वटा पालिकामध्ये केही पालिकामा त्यस्तो हुने गरेको छ,’ भट्टराईले विकास टाइम्ससँग भने, ‘राख्न नचाहने र बस्न नचाहने कारणले गर्दा परिवर्तन गर्ने गरिएको छ ।’

कर्मचारी र जनप्रतिनिधिको द्वन्द्वका कारण पालिकामा काम नै नहुने अवस्था आएपछि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्ने गरेको भट्टराई बताउँछन् । सामान्य विवाद भएको अवस्थामा सम्झाइ–बुझाइ गरेर पनि अधिकृत राख्ने गरेको भट्टराईको भनाइ छ ।

सहसचिव भट्टराईको कुरा मान्ने हो भने बेलकामा छिटो–छिटो अधिकृत परिवर्तन हुनुमा सामान्य विवाद मात्र छैन । जनप्रतिनिधि र कर्मचारीको द्वन्द्वले काम नै हुन नसक्ने अवस्था आएपछि प्रशासकीय अधिकृतहरू परिवर्तन हुने गरेको पुष्टि हुन्छ ।

तर, मेयर कार्की आफूसँग प्रशासकीय अधिकृतको कुनै किसिमको विवाद नभएको दाबी गर्छन् । किन यसरी प्रमुख प्रशासकीय अधिकृत बस्न मानिरहेका छैनन् भन्ने विषय आफूले पनि नबुझेको कार्कीको भनाइ छ ।

‘खै किन हो त्यसरी उहाँहरू सरुवा भएर जानुहुन्छ, मैले पनि बुझ्न सकेको छैन,’ कार्कीले विकास टाइम्ससँग भने, ‘मैले त संघीय मन्त्रालयमा लिखित पत्रसमेत दिएको छु– त्यसरी कर्मचारी सरुवा नगरिदिनु भनेर ।’

बेलकाबाट गएका प्रमुख प्रशासकीय अधिकृतहरूले समेत आफूसँग गुनासो नगरेको मेयर कार्की बताउँछन् । आफूबाट असन्तुष्ट भएर ‘हाकिम’ले सरुवा लिएर गएको पुष्टि गर्नसमेत मेयर कार्कीले चुनौती दिए ।

गत वर्षको वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि बेलकामा नयाँ मेयरका रूपमा अशोक कार्की आउँदा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला थिए । तर, निरौला कार्की आएपछि ४ महिना पनि बसेनन् । भदौमा उनी बेलकाबाट बिदा भएर अन्यत्र गए ।

निरौला गएपछि रामप्रसाद वाग्ले प्रमुख प्रशासकीय अधिकृत भएर आए । तर, उनी पनि धेरै समय भने टिक्न सकेनन् । असोजमा आएका वाग्ले चैतमै गए । वाग्ले पनि ६ महिनाभन्दा बढी टिक्न सकेनन् ।

चैतमै अर्का प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम बेलका आए । गौतम अझ ४ महिना मात्र टिके । उनी २०८० साउन ३२ गते सरुवा लिएर गए । सोही दिन दशरथ राई प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका छन् । तर, उनी पनि धेरै समय टिक्न नसक्ने त्यहाँ कार्यरत कतिपय कर्मचारी बताउँछन् ।

जुन दिन राई ‘हाकिम’ भएर आएका थिए, सोही दिन पालिकाको हाजिर खाता मेयरको सचिवालयमा लगेर राखिएको थियो । सामाजिक सञ्जालमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने उद्देश्यले सचिवालयमा हाजिर खाता राखिएको भनेर चर्चासमेत भएको थियो ।

कांग्रेसका बेलकाका नेताहरूले त प्रमुख प्रशासकीय अधिकृत राई आएको विषयमा सामाजिक सञ्जालमा असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।

विकास टाइम्सले नगर प्रवक्ता खड्कालाई प्रमुख प्रशासकीय अधिकृत आएको विषयमा बुझ्दा आफू जानकार नभएको अभिव्यक्ति दिए । ‘खै मैले सुन्नचाहिँ सुनेको हो,’ खड्काले भने, ‘म बाहिर भएकाले मलाई धेरै थाहा भएन । मेयर सा’बलाई नै फोन गरेर बुझ्नू न है !’

वडाध्यक्ष खड्का र मेयर कांग्रेसबाट चुनिएका जनप्रतिनिधि हुन् । खड्का नगरको प्रवक्तासमेत भएकाले उनको यस्तो अभिव्यक्तिले प्रमुख प्रशासकीय अधिकृत राईलाई जनप्रतिनिधिले मन नपराएको पुष्टि गर्छ ।

कर्मचारीहरू ‘रिस्क’ लिएर काम नगर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत छिटो–छिटो सरुवा हुने गरेको बेलकामा कार्यरत कर्मचारीहरू बताउँछन् । ‘अहिले कर्मचारीहरू सबै रिस्क लिएर काम गर्न मान्दैनन्,’ बेलकाका एक कर्मचारी विकास टाइम्ससँग भन्छन्, ‘मेयर सा’बले आफ्नो चाहनाअनुसार काम गराउन खोज्दा उहाँहरू (प्रमुख प्रशासकीय अधिकृत) धेरै टिक्नुहुन्न ।’

प्रशासकीय अधिकृतको विषयमा बेलकाकी उपमेयर जिरा राईलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेन ।

हाकिम नहुँदा मारमा नगरबासी

बेलकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरबासी नै मारमा पर्ने गरेका छन् । जनतासँग जोडिएका थुप्रै काम हाकिम अभावमा त्यसै थन्किएर बस्ने कर्मचारीहरू बताउँछन् । आर्थिक र भुक्तानीसँग जोडिएका थुप्रै काम प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको सूचना अधिकारी चेतनाथ गौतम बताउँछन् ।

जनप्रतिनिधले बनाउने नियम कानुन बनाउन पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा अप्ठ्यारो पर्ने गौतम बताउँछन् । ‘१–२ दिन नहुँदा त केही फरक पर्दैन । तर, लामो समयसम्म हाकिम सा’ब नहुँदा समस्या पर्छ,’ गौतमले भने ।

किन हुन्छ जनप्रतिनिधि र हाकिमबीच टसल ?

जनप्रतिनिधिको एउटा सोच हुने र कतिपय कुरामा कानुनी कुरामा आँखा चिम्लिएर जान खोज्दा टसल हुने गरेको खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् । कर्मचारीले निमयन गरेर मात्र अघि बढ्ने कुरालाई प्राथमिकतामा राख्ने गरेको उनी बताउँछन् ।

जनताको अपेक्षा र दबाबबीच काम गर्नुपर्ने भएकाले जनप्रतिनिधि हतारिनु स्वाभाविकै भएको रूपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा बताउँछन् ।

‘कानुनभन्दा माथि कोही पनि छैन । यसले सबै पक्षलाई समस्या पार्छ,’ सापकोटा भन्छन्, ‘यिनै कुराहरूले गर्दा नै पालिकाहरूमा पालिका प्रमुख र ‘हाकिम’बीच बेलाबेलामा ‘टसल’ देखिन्छ ।’

जनप्रतिनिधिले कर्मचारीहरूलाई नियम कानुन मिचेर काम गर, यसो–उसो गर भनेर दबाब दिएपछि भने समस्या हुने रौतहटको चन्द्रपुर नगरपालिका मेयर सञ्जयकुमार काफ्ले बताउँछन् ।

नियम कानुनको पालना गर्दै हिँड्ने हो भने समस्या नहुने स्याङ्जा चापाकोट नगरपालिकाका मेयर देवबहादुर खाणको भनाइ छ । कर्मचारीले आफ्नो काम गर्ने र आफूले आफ्नो काम गर्ने हो भने त्यस्तो समस्या नहुने उनको भनाइ छ ।