९५ किलोमिटर बाटोकाे गाडीभाडा ५ हजार !

९५ किलोमिटर बाटोकाे गाडीभाडा ५ हजार !


हुम्ला । हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता छ । चीनको ताक्लाकोटमा कामका लागि हिल्सासम्म जानका लागि हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता रहेको छ । बोलेरो जिप भन्दा भाडा दर कम पर्ने भएको कारण जोखिम उठाएरै भए पनि यात्रुहरू टिपर चढ्नु पर्ने बाध्यता रहेको हो ।

सिमकोट गाउँपालिका– ७ को चौगानफयाकी स्थानीय जानकी सिंहले जोखिम यात्रा भए पनि टिपर चढेर हिल्सासम्म यात्रा गर्नु परि रहेको बताउनुभयो । उहाँले सीमित बोलेरो जिपहरू हिल्सा चल्ने, भनेको बेला नपाइने र पाइए पनि भाडा दर महँगो पर्ने भएको कारण टिपर चढ्नुको अन्य विकल्प नदेखिएको बताउनुभयो । टिपरमा उभिएर हिल्सातर्फ यात्रा गर्दै गर्नु भएकी सिंहले मुख्य गरी टिपरको भाडा एक हजार पाँच सय पर्ने र त्यो भाडा जिपको भन्दा तेब्बर सस्तो पर्ने भएको कारण धेरै यात्रुहरू टिपर चढ्ने गरेको बताए ।

टिपरमा चढ्दा धुलोले सेताम्मे हुनु भएकी उहाँले यात्रा गर्नै पर्ने बाध्यताको कारण यसरी टिपर चढ्नु परेको बताए । अर्का टिपर चढेर हिल्सा जाँदै गर्नु भएका यात्रु राम दल बुढाले धुला खानु परे पनि भाडा कम लाग्ने भएको कारण टिपरै चढेर जाने गरिएको बताए । उकालो र ओरालो सडकमा निक्कै कष्टकर हुने भए पनि सिमकोटबाट हिल्सातर्फ जाने कुनै पनि टिपर खाली जानु परेको छैन । चीनको ताक्लाकोटबाट सामान ल्याएर सिमकोटतर्फ आएका टिपरमाथि फिर्ता जाँदा यात्रु लिने गर्दै आएका हुन ।

नियमित टिपरमा यात्रु चढ्ने अनुमति नभए पनि हुम्ला टिपरमा यात्रा गर्नु सामान्य जस्तै भएको छ । टिपर चालक कुमान तामाङले सडकमा गुडी रहेको टिपरलाइ रोकेर यात्रुहरूले लैजान अनुरोध गर्ने गरेको कारण आफूले बोक्ने गरेको बताए । सिमकोटबाट हिल्सासम्म तीन स्थानमा प्रहरी चौकी रहेको भए पनि टिपरमा यात्रुहरू बोकाएकोमा भने केही भन्ने गरेको छैन ।

सिमकोटबाट हिल्सासम्म बोलेरो जिप चढेको एक जना यात्रुको पाँच हजार लाग्ने गर्छ । रिजर्भ गरे भने पचास हजार भाडा जिपहरूले लिँदै आएका छन् । सिमकोटबाट हिल्सासम्म ९५ किलो मिटर दुरी रहेको छ ।