ताप्लेजुङ गोल्डकपले टिकट बेचेर कमायो ११ लाख २१ हजार

ताप्लेजुङ गोल्डकपले टिकट बेचेर कमायो ११ लाख २१ हजार


ताप्लेजुङ ।

जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रुपैयाँ संकलन भएको छ।

सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट ११ लाख संकलन भएको हो।

सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट ४ लाख ६५ हजार रुपैयाँ संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। क्वाटरफाइनलबाट ६ लाख ५५ हजार ८०० रुपैयाँ संकलन भएको हो।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क २०० र क्वाटरफाइनलका लागि १०० रुपैयाँ टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि २०० नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए।

खेलको पहिलो दिन भदौ १४ गते १ लाख ७० हजार ८००, १५ गते १ लाख ३१ हजार ७००, १६ गते १ लाख ७५ हजार ७०० तथा भदौ १७ गते १ लाख ७७ हजार ७०० रुपैयाँको टिकट बिक्री भएको थियो।

यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते १ लाख ५८ हजार ४०० र दोस्रो दिन भदौ १९ गते ३ लाख ७ हजार ४०० संकलन भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।

खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित ८ टोली सहभागी छन्।

उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले १ लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो। २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिता आयोजना हुँदै आएको छ।