पूर्वी पहाडका ४ जिल्लामा ‘फोर जी’ इन्टरनेट विस्तार सुरु

पूर्वी पहाडका ४ जिल्लामा ‘फोर जी’ इन्टरनेट विस्तार सुरु


धनकुटा ।

नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका ४ जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ ।

टेलिकमले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि) बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो ।

यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट ५ एम विपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो ।

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म सय जिबिपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् ।

कार्यालयका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिँधुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ ।

धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।

त्यस्तै संखुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ ।

अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको बिर्तामोडबाट पुनः इटहरीसम्म १०० जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए पनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले ४ जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

सेवा विस्तारसँगै हाल धनकुटामा २ हजार ६२१ वटा राउटरमार्फत् ८ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फत्को इन्टरनेट उपभोग गरिरहेका छन् । भोजपुरमा ७०३ राउटरमार्फत १ हजार ५०० घरधुरीले, सङ्खुवासभामा ९८० राउटरमार्फत् २ हजार घरधुरीले र तेह्रथुममा ६७० राउटरमार्फत् १ हजार ५०० घर धुरीले इन्टरनेट सेवा उपभोग गरिरहेको उनले उल्लेख गरे ।