गर्जाे टार्न पढाइ छाडेर भारतमा मजदुरी, अहिले डेढ कराेडकाे कम्पनी, मासिक ३ लाख कमाइ

गर्जाे टार्न पढाइ छाडेर भारतमा मजदुरी, अहिले डेढ कराेडकाे कम्पनी, मासिक ३ लाख कमाइ


भरतपुर ।

हातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भरतपुर–७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आइरहेका छन् ।

साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे । ‘उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाउने गरिएको छ । पहिला उद्योगमा ५-६ प्रकारका कपडा बनाउने गर्थेँ,’ उनले भने, ‘अहिले २५ देखि ३० प्रकारका कपडा बनाउने गरेको छु । उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायत सहरमा बिक्री गर्ने गरिएको छ ।’

सानैदेखि कुनै पनि काममा आफै नेतृत्वदायी भूमिका खेल्न रुचाउने उनले ३७ वर्षको उमेरमा उद्योग खोले । साथीभाइसँग मिलेर उद्योग सञ्चालन गरेका चौधरी उद्योगको पनि निर्देशक छन् । उनले भने, ‘साथीभाइ सबै विदेश गए, मैले नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ ।’ आफ्नो मेहनत र परिश्रमले दिनप्रतिदिन सफलताको सिढी चढेको उनको अनुभव छ ।

२०७२ कात्तिक २ गते स्थापना भएको उद्योगबाट सुरुवाती चरणमा सबै खर्च कटाएर १ लाख ५० हजार रुपैयाँ बचत हुन्थ्यो । अहिले सबै खर्च कटाएर ३ लाख रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन् ।

कक्षा ८ मा पढ्दापढ्दै उनले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम गर्न थाले । भारतमा ६ वर्षसम्म काम गरेपछि काठमाडौँ आएर उनले ४ वर्ष काम गरे । ‘१० वर्ष सिकेको सीप आफ्नै ठाउँमा आएर प्रयोग गर्दा सफलता मिल्दै गयो’, उनले भने । ४० लाखबाट सुरु गरेको उनको उद्योगमा अहिले डेढ करोड लगानी भइसकेको छ ।

भारतमा काम गर्दादेखि नै नेपालमा गएर केही काम गर्छु भन्ने सोच बनाएको उनी बताउँछन् । अहिले उनको दैनिकी उद्योग व्यवस्थापन र सञ्चालनमा बित्ने गरेको छ ।

उनले उद्योग खोल्दा धेरै चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन् । ‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए । कहिलेकाहीँ त पेसा छाडौँ कि जस्तो पनि भयो तर निरन्तरको कामले सफलता मिल्दै गयो’, उनले भने ।’

४ वर्षसम्म स्वदेशी बजार बुझेर, कस्तो सामान मान्छेले खोजी गरिरहेका छन् र कस्तो सामान बनाउँदा उपयुक्त हुन्छ भन्ने योजनामा समय खर्च गरेको उनले बताए । यसरी लामो समयसम्म बजार बुझ्दा आफैँले उद्योग खोलेर चलाउन सक्छु भन्ने सोच आएपछि अगाडि बढेको विगतको स्मरण उनले गरे ।

‘पुर्ख्याैली सम्पत्ति भए पनि आफैँले केही नयाँ गर्छु भन्ने सोचका साथ आफैँले ऋण लिएर उद्योगको सुरुआत गरेँ,’ उनले भने, ‘ऋण तिर्नुपर्ने भएकाले पनि मिहिनेत गर्न सिकायो ।’

मानिसमा मेहनत र लगनशीलता भयो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सुझाव उनले युवालाई दिएका छन् । उनले भने, ‘कोसिस गरे स्वदेशमा जे पनि गर्न सकिन्छ, बिदेसिनु पर्दैन । तर मान्छेमा मेहनत र लगनशीलता हुनुपर्छ ।’