काठमाडौँ ।
नेपालमा क्रिकेटका लागि आवश्यक पूर्वाधार छैन । तर, खेलाडीको आत्मविश्वास, क्षमता र उनीहरूलाई उत्प्रेरणा दिने खेलप्रेमीको भने कुनै कमी छैन । तर, क्षमता बढाउन त्यतिले मात्र पुग्दोरहेनछ । त्यसका लागि पूर्वाधार र प्रशिक्षण पनि गतिलो हुनुपर्ने रहेछ ।
राजु खड्का, विनोद दास, पारस खड्का हुँदै अहिलेको पुस्तासम्म आइपुग्दा सरकारसँग सबैको पहिलो माग पूर्वाधार विकास गरिदिनुप¥यो भन्ने नै देखिन्छ । तर, क्रिकेटको आवाज सरकारसम्म पुग्दै
पुग्दैन । सन् १९९० को दशकदेखि अहिलेसम्म ३०औँ वर्ष त्यही कुराको माग गर्दै खेलाडीको खेल जीवन सकियो । न उनीहरूले भनेको कसैले सुने न उनीहरूले एउटा राम्रो खेलमैदान पाए ।
त्रिभुवन विश्वविद्यालय परिसरमा एउटा सानो कुचुक्क परेको खेलमैदान छ । जुनसुकै प्रतियोगिता भए पनि देखाउने थलो त्यही मात्र हो । मूलपानीमा प्रशिक्षण गर्नेसहितको क्रिकेट मैदान त छ, तर त्यो कहिले बनिसक्ने हो अनि पूर्ण रूपमा कहिले प्रयोग गर्न पाउने हो कुनै अत्तोपत्तो छैन ।
उता, चितवनमा धुर्मुस सुन्तलीले निर्माण सुरु गरेको क्रिकेट रंगशाला लथालिंग अवस्थामा छ । त्यसलाई कसले सकार्ने र कसको पालामा बनेको भनेर नाक फुलाउने होडमा क्रिकेट नै चेपुवामा प¥यो । सरकारैपिच्छे नेता–मन्त्रीहरू ठुल–ठुला गर्छन्, तर काम ? अँह !
नेताहरूलाई पनि थाहा छ, क्रिकेटमा जनताको सेन्टिमेन्ट जोडिएको छ भनेर । त्यही सेन्टिमेन्टलाई भोटमा बदल्न उनीहरू अनेक तिकडम लगाउँछन् । खेलैपिच्छे खलाडीलाई यति र उति दिन्छौँ भन्दै घोषणा गर्न हौसिने सरकार भाषणपछि बिर्सिहाल्छ ।
द्वन्द्वको चपेटामा परेको अफगानिस्तानले क्रिकेटमा मारेको फड्को हेर्दा हामीलाई लोभ मात्र होइन, इष्र्या पनि लाग्छ । त्यहाँको सरकारले द्वन्द्वको समयमा पनि क्रिकेटलाई निर्वाध रूपमा सञ्चालन गर्न दियो । जबकि त्यस समयमा अन्य खेललाई प्रतिबन्ध नै लगाएको अवस्था थियो । अहिले त्यहाँ समान्य खेलमैदान दर्जनभन्दा बढी छन् भने आधा दर्जन अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तयार हुँदै छन् ।
खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भनेर सरकार भन्न कहिल्यै पनि छाड्दैनन् र बनेर पनि कहिल्यै सकिँदैन । अफगानिस्तानको तुलनामा नेपाल धेरै हिसाबमा अगाडि छ । तर, मानसिकतामा यहाँको नेतृत्व निकै पछाडि रहेको उनीहरूको कार्यशैलीले प्रष्ट पार्छ ।
भर्खरै नेपालले भारत र पाकिस्तानसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेर फर्कियो । खेल नजिते पनि नेपाली टोलीले देशको मन भने जित्यो । उनीहरूको वाहवाही नेपाली सञ्चारमाध्यममा भन्दा पनि बढी भारत र पाकिस्तानमा देखियो ।
तर, स्वदेश फर्किएका नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले खेलको विषयमा भन्दा पनि पूर्वाधार अभावकै विषय उठाए । उनले पूर्वाधारमा लगानी गर्न ढिला भइसकेको बताएका थिए ।
एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रयाप्त तयारीबिना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए । ‘अबचाहिँ हाई टाइम भइसक्यो, इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्नुपर्छ । जहिल्यै पनि ती कुराहरूमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी,’ उनले भने, ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि । प्रत्येक प्रदेशमा ग्राउन्ड, खासगरी पिच भयो भने तयारी गर्न सकिन्छ ।’
यसअघि पाकिस्तानसँगको खेलअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीका कप्तान रोहित पोडेलसहितलाई भिडियो कल गरी तयारीबारे सोध्दै बेस्ट अफ लक भनेका थिए । तर, उनले नेपालमा क्रिकेटका लागि पूर्वाधारका लागि के गरे भन्ने प्रश्नको उत्तर छैन ।
उनले जस्तै पारस खड्का नेपालको कप्तान हुँदा उनले पनि हरेक पटक सञ्चारकर्मीसँग कुरा गर्दा यसै भन्थे । तर, २ दिन त्यसका बारेमा समाचार बने, अनि त्यसै सेलाए । बिनामतलबका सयौँ योजना थुपार्न सक्ने हैसियत भएको सरकार देश र जनतालाई के चाहिएको छ र के बनाउँदा उपयुक्त होला भनेर बुझ्न सक्दैन । यसको नियति हाम्रा खेलाडीहरूले भोगिरहेका छन् ।
अफगानिस्तानभन्दा पुरानो क्रिकेट इतिहास बोकेको नेपाल आज ५ वर्ष कान्छो अफगानिस्तानले टेस्ट मान्यता पाइसक्दा टुलुटुलु हेरेर बस्न बाध्य छ । नेपालको अवस्था यतिसम्म नाजुक छ कि, नेपाल र भारतको खेल भएको दिन भारतको ठुलै र प्रतिष्ठित न्युज च्यानलमा क्रिकेटसम्बन्धी कार्यक्रम चलिरहेको थियो । त्यसमा नेपाली खेलाडीको पारिश्रमिकको बारेमा चर्चा सुरु भयो । सुरुमै न्युज एंकरले भने, ‘नेपालमें क्रिकेट खेलाडीके तनख्वाह भारतके चप्रासी से भी कम है ।’ यसको अर्थ थियो– भारतका पियनले पाउनेभन्दा कम पारिश्रमिक नेपालका राष्ट्रिय स्तरका क्रिकेट खेलाडीले पाउँछन् ।
सायद यो सुनेर नेपाली खेलाडीहरू धुरुधुरु रोए होलान्, अनि नेताहरू ? नेतालाई त केको लाज । उनीहरूले त पचाइसके । ५० हजार दिन्छु भनेर वर्षौँ झुलाउन सक्ने क्षमता भएका उनीहरूलाई यस्ता कुराले खासै मतलब पनि नराख्ला । तर, मनमा राष्ट्रियता भएका नेपालीलाई योभन्दा पीडाको विषय के हुन सक्ला र ?
प्रतिक्रिया