भर्ने हैन हाथवे इन्भेस्टमेन्टको आइपिओ ?

भर्ने हैन हाथवे इन्भेस्टमेन्टको आइपिओ ?


काठमाडौं ।

हाथवे इन्भेस्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ ल्याउन अनुमति पाएको थियो।

जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आइपिओ बिक्री गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आइपिओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपिओको निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।