भारतको ३ अर्ब सहयोगमा बनेको हिमालय किरण क्याम्पसको उद्घाटन

भारतको ३ अर्ब सहयोगमा बनेको हिमालय किरण क्याम्पसको उद्घाटन


खाँदबारी ।

संखुवासभाको खाँदबारी नगरपालिकास्थित भारत सरकारको सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहयोगअन्तर्गत ३ अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । ३ तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ ।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याउँदै आएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद भविष्य निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उनको भनाइ थियो ।

दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए ।

क्याम्पसमा हाल ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पसले जनाएको छ ।