कैकुखोला–खन्ती सडक कालोपत्र, डेढ घन्टाको बाटो ३० मिनेटमा

कैकुखोला–खन्ती सडक कालोपत्र, डेढ घन्टाको बाटो ३० मिनेटमा


म्याग्दी ।

मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगर्त कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि डेढ घन्टाको बाटो ३० मिनेटमा छोटिएको जानकारी दिए । ‘कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि १ घन्टा यात्रा अवधि छोटिएको छ,’ उनले भने, ‘मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।’

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्याबिन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ ।

सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयबासीले बताएका छन् । मालढुंगा देखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्ण रूपमा कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको ४ प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने ९राजन०ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिए ।

‘शर्मा–गजुरमुखीले ठेक्का लिएको ३ वटा प्याकेजमध्ये २ वटा प्याकेज कालोपत्र र २ वटा पुल निर्माण सकिएको छ,’ उनले भने, ‘७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ । यो खण्डलाई पूर्णता दिने प्रयासमा छौँ । छाक्ताङ खोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।’

२०७४ सालमा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको ७ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डका ७ मध्ये ६ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताए । ८ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

१२ वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप ५ ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ ।

सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र ९१०बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए ।