दर खान गएरका मुख्यमन्त्रीले भने- ११९ वटै पालिकासँग सहकार्य जरुरी छ

दर खान गएरका मुख्यमन्त्रीले भने- ११९ वटै पालिकासँग सहकार्य जरुरी छ


चितवन ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास गर्न प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताएका छन्।

बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारको तीज कार्यक्रममा उनले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री जम्कट्टेलले भने, ‘नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर जानुपर्छ भन्ने उद्देश्यका साथ केही नीतिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकापसमा भएको स्रोत साधनलाई परिचालन गर्न सहकार्य गर्न आवश्यक छ।’

प्रदेश र स्थानीय सरकारको सहकार्यका लागि केही नीति बनाउने तयारीमा रहेको उनको भनाइ छ। उनले थपे, ‘अब विकास गर्ने भनेको प्रदेश र स्थानीय सरकार मिलेर हो, त्यसका लागि हामीले केही नीति बनाउँदै छौँ, ड्राफ्ट गर्दै छौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानुनको बीचमा तादात्म्य हुने गरी विशेषतः विकासका काममा सहकार्य गर्ने गरी नीति बनाउँदै छौँ।’

प्रदेशका ११९ वटै पालिका प्रमुखसँग आगामी कात्तिकमा छलफल गर्ने समयतालिका तय भएको उनले जानकारी दिए। आगामी वर्षको नीति कार्यक्रम तथा बजेट स्थानीय सरकारले गुनासो गर्न नपर्ने गरी आउने उनको भनाइ थियो।