२५४ मिटरको एउटा पुल बनाउन ८ वर्ष लाग्यो

२५४ मिटरको एउटा पुल बनाउन ८ वर्ष लाग्यो


file photo

त्रिशूली ।

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नपा–१२ स्थित तादी खोलामा निर्माण थालिएको ८ वर्षपछि पक्की पुल सञ्चालनमा आएको छ ।

निर्माण सम्पन्न गरिसक्नुपर्ने भन्दा थप ५ वर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जनाएको छ ।

डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको वहाब नियन्त्रणमा लापरबाही भएसंगै ५ वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा आएको हो । ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाई २५४ मि.लामो छ । उनले भने,“पुल निर्माणको क्रममा तादी खोलाको बहाबले विदुरतर्फ खोलाको बहाब परिवर्तन भएसगैँ अहिले बनाएको पुलको दुरी जत्तिकै थप स्पाम आवश्यक पर्ने जनाउँदै काम रोकिएको थियो । खोलाको बहाब नियन्त्रण गरेसँगैँ ५ वर्षसम्म जुन अवस्थामा रहेको थियो, सोही अवस्थाकै पुललाई अहिले सञ्चालनमा ल्याइएको हो ।”

पुल निर्माणको क्रममा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा औँल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौता अनुसार १२ करोड ५९ लाख लगानीमा निमार्ण सम्पन्न भएको डिभिजन कार्यालयका इञ्जिनीयर सुमनराज बस्नेतले जानकारी दिए ।

उनको अनुसार पुल निर्माणको जिम्मेवारी पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै १० प्रतिशत रकम भुक्तानी दिन बाँकी छ । तादी र सिन्दुरे खोलाको दोभानमा निर्माण गरिएको उक्त पुलले नुवाकोटको सदरमुकाम विदुरलाई राजधानी काठमाडौँसँग जोड्न सबैभन्दा छोटो दुरी पर्दछ । विदुरबाट ५ किलोमिटरको दुरीमा रहेको

उक्त पुल हुदैँ ककनीसम्मको दुरी १८ किमी पर्दछ । साविकको पासाङ ह्ल्यामु राजमार्ग अन्तरगत ककनीबाट बालाजु २२ किमीको दुरीमा रहेकाले नुवाकोटको सदरमुकामबाट काठमाडौँ जोड्न तादी खोलाको अहिले सञ्चालनमा आएको पुल सबैभन्दा बढी उपयोगी हुने ककनी गाउँपालिकाको अध्यक्ष सुमन तामाङले बताए । उनको अनुसार पुलबाट सवारीसाधन आउजाउ गर्न थालेसँगैँ ककनी गाउँपालिका पूरै र बेलकोटगढी नगर विभिन्न वडाका बासिन्दालाई अहिले प्रयोग गर्दै आएको पासाङ ह्ल्यामु राजमार्गको भन्दा आधा दुरी छोटो पर्दछ ।

उनले भने “ककनीमा उत्पादित कृषि सामग्री जिल्लाको सदरमुकामसम्म पुराउँदा काठमाडौँ घुमाएर अर्को सडकको प्रयोग गर्नुपर्ने बाध्यता टरेको छ । सडकलाई बाहैँ महिना सञ्चालनमा ल्याउन आवश्यकता अनुसार स्तरोउन्नतिमा तीनै तहका सरकारले प्राथमिकता दिएका छौँ ।”