७७ जिल्लामै कृषि यान्त्रिकीकरण, किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार दिइने

७७ जिल्लामै कृषि यान्त्रिकीकरण, किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार दिइने


काठमाडौंँ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरणको नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालको कृषिको यान्त्रिकीकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति छ, यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ जिल्लामा लागू गरिएको छ । परियोजनाबाट ट्याक्टर, पाउ टिरल, मिनि टिलर, धान रोप्ने मेसिन, खाल्टो खन्ने मेसिन, थ्रेचर, ड्रायर, ग्रेडरलगायत यन्त्र खरिद गरेर कस्टम हायरिङ् सेन्टरमा राखेर किसानहरूलाई प्रयोग गर्न दिइनेछ । त्यस्तो सेन्टर जम्मा ५८० वटा छन् ।’

यस्तै उनले परियोजनाको क्षेत्रमा नपरेका किसानका लागि कृषिका लागि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीहरूलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए ।

उनले भने, ‘उक्त परियोजनाको क्षेत्रमा नपरेका किसानहरूले कृषि औजार यन्त्र खरिद गर्न चाहेमा ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । यसबाट उत्पादन लागत घटेसँगै उत्पादन वृद्धिमा मद्दत पुगेको छ । फार्म, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराइन्छ ।’