लगानीकर्तालाई प्रधानमन्त्रीले भने : पूर्वाधारमा लगानी बढाउनुस्, डुब्न दिँदैनौँ

लगानीकर्तालाई प्रधानमन्त्रीले भने : पूर्वाधारमा लगानी बढाउनुस्, डुब्न दिँदैनौँ


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ मन्तव्य व्यक्त गर्दै देशमा लगानीको उपयुक्त वातावरण बनाउने पक्षमा उच्च प्राथमिकतासहित क्रियाशील रहेको स्पष्ट गरे ।

उनले लगानीका दृष्टिले नेपाल विश्वमै उत्कृष्ट स्थान रहेको सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै लगानी बोर्डजस्तो उच्च तहको शक्तिशाली निकायको स्थापना भएपछि पूर्वाधार निर्माणसम्बन्धी आयोजनामा स्वदेशी तथा विदेशी ठूला लगानीकर्ता आकर्षण गर्न सहज भएको बताए ।

बोर्डलाई सार्वजनिक तथा निजी साझेदारी एवं लगानी ऐनले परिकल्पना गरेको उल्लेख गर्दै उनले सार्वजनिक तथा निजी साझेदारीको अवधारणाबमोजिम पूर्वाधार प्रवर्द्धन र स्रोत केन्द्रका रूपमा बोर्डले उल्लेखनीय भूमिका निर्वाह गरेको स्पष्ट गरे ।

प्रधानमन्त्री दाहालले ठूला लगानीका पूर्वाधार आयोजना सञ्चालन तथा सहजीकरण गर्दै आएको बोर्डको आफ्नो अनुभव र मुलुकको आवश्यकतालाई समेत दृष्टिगत गरी आवश्यक व्यवस्थासहित समयानुकूल यसको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

प्रधानमन्त्रीले देशका ठूला पूर्वाधार आयोजाको विकास, निर्माण र व्यवस्थापनका पक्षमा निजी क्षेत्रलाई अझ परिचालित गर्न बोर्डले अझ तदारुकता देखाउने विश्वास व्यक्त गरे ।

सन् २०३० मा मध्यम आय भएको राष्ट्रका रूपमा पुगी दिगो विकास लक्ष्य हासिल गर्ने आकाङ्क्षासहित अघि बढिरहेको हाम्रो देश नेपालका सामु विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमण, द्वन्द्व र वातावरण परिवर्तनका कारण चुनौती थपिएको उनले बताए ।

उनले अन्तिम वर्षका रूपमा कार्यान्वयन भइरहेको चालु १५औँ पञ्चवर्षीय योजनाले कुल लगानीको आधा हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने परिकल्पना गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले निजी तथा बाह्य क्षेत्रको लगानीलाई प्राथमिकता दिई १६औँ पञ्चवर्षीय योजनाको मस्यौदा तयारीका क्रममा रहेको नेपालले आगामी दिनमा त्यसतर्फ उच्च प्राथमिकता दिएको स्पष्ट गरे ।

उनले आर्थिक उदारीकरणको अवधारणाका साथ अघि बढिरहेको नेपालले निजी क्षेत्रसँगको साझेदारीलाई उच्च प्राथमिकता दिई आवश्यक नीतिगत, कानूनी, प्रक्रियागत र संस्थागत सुधार गरी व्यापार तथा लगानीको वातावरण तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले मुलुकमा लगानीमैत्री वातावरण तयार गर्न संविधानको भावनाअनुसार तीन तहको सरकारका बीच आपसी सहयोग, सद्भाव र समन्वयको वातावरण तयारीका लागि आवश्यक नीति, विधि र संयन्त्र विकास गर्ने पक्षमा सरकार रहेको बताए ।

उनले नेपालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरी लाभान्वित हुन सक्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले बुट मोडलमा केही विकास निर्माण आयोजना सञ्चालन गरेको नेपालले सार्वजनिक, निजी तथा सहकारी (पिपीपी)को अवधारणाअन्तर्गत पूर्वाधार निर्माणसम्बन्धी ठूला आयोजना सञ्चालन गरी लाभान्वित हुनुपर्ने धारणा व्यक्त गर्दै त्यसतर्फ पहल गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिइसकेको जानकारी दिए ।

लगानीका दृष्टिले अनुकूल रहेको नेपालमा बढीभन्दा बढी लगानी गरेर लाभान्वित हुन लगानीकर्तालाई आह्वान गर्दै प्रधानमन्त्रीले राज्यका सरोकारवाला निकायमा आवश्यक नीतिगत व्यवस्था गरी लगानीकर्ताको लगानी सुरक्षित तथा सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए ।

उनले पिपीपी ढाँचाको विकास अवधारणासहित अघि बढ्नसके देश र जनता लाभान्वित हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा अघि बढ्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गरे ।

वैदेशिक लगानी आकर्षण गर्न आवश्यक नीतिगत व्यवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार विकास आयोजनाका कुनै पनि विदेशी तथा स्वदेशी लगानी एवं विकासकर्ताले अनावश्यक समस्या झेल्न नपर्ने वातावरण तयार गरिने प्रतिबद्धता व्यक्त गरे ।

लगानी प्रवर्द्धनका पक्षमा क्षमतावान् जनशक्ति, आवश्यक स्रोत साधन र चुस्तदुरुस्त सेवा प्रवाहसहित लगानी बोर्डलाई द्रुत सेवा प्रदायक सशक्त निकायका रूपमा सुदृढीकरण गर्न लागेको जानकारी दिँदै उनले पूर्वाधार विकासका क्षेत्रमा नेपालले लिएको प्रयासमा साथ दिन विकास साझेदार तथा बहुराष्ट्रिय बैंकहरूलाई आह्वान गरे ।

सीमित स्रोत साधनका बाबजुद विकास, लगानी र साझेदारकर्ताको विश्वास जित्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएकामा बोर्डलाई धन्यवाद दिँदै उनले लगानीको वातावरणसहित मुलुकको पूर्वाधार विकासका पक्षमा थप क्रियाशील हुन बोर्डलाई निर्देशनसमेत दिए ।