फेरिएको धादिङेको जीवनस्तर : पटपटी चिरा परेका टारमा ‘सुन’ फलाउँदै

फेरिएको धादिङेको जीवनस्तर : पटपटी चिरा परेका टारमा ‘सुन’ फलाउँदै


काठमाडौँ ।

पानी जीवन हो । मानिस मात्र होइन, भूमण्डलको चराचर जगतका लािग पानी प्राण हो । पृथ्वीमा रहेका निष्प्राणबाहेक जीवन भएका सबै प्रकृतिलाई पानी अनिवार्य, अत्यावश्यक छ । त्यसैले यो जीवन धारा हो ।

मानिसले विज्ञानको माध्यमबाट अनेकन चिजवस्तुको आविष्कार गर्न सफल भयो । तर, पानीको विकल्प अझै खोज्न सकेको छैन । जीवन सरल र सहज बनाउन मानिसले सतह र भूमिगत तहमा रहेको पानीको स्रोतलाई उपयोग गरिरहेको छ । पिउनेदेखि अनेक उत्पादकत्वका लागि यिनै माध्यमबाट आउने पानीले महत्वपूर्ण सहयोग पुर्‍याइरहेको हुन्छ ।

अझ नेपालजस्तो कृषिप्रधान मुलुकमा पानीको महत्वबारे त भनिरहनै पर्दैन । हाम्रा कृषि उत्पादनमा थोपा–थोपा पानीको महत्व कति छ भन्ने सबैभन्दा बढी जानकार कृषकभन्दा अरू को होला र ? सिँचाइ सुविधा नहुँदा उत्पादकत्व क्षमता भएका उर्बर फाँटहरू बन्जर बनिरहेका छन् ।

सिँचाइ क्षेत्रमा राज्यले गरेको लगानी कृषिको व्यावसायीकरणमार्फत् आममानिसको मुहारमा परिवर्तन ल्याउनकै लागि हो । बिहान–बेलुकाको जोहो गर्न हम्मेहम्मे पर्ने वर्ग आज सिँचाइले ल्याएको कायापलटले आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएको छ ।

यसै सन्दर्भमा नेपालको मध्य क्षेत्रमा पर्ने पहाडी जिल्ला धादिङमा सिँचाइ प्रणालीमार्फत् आममानिसमा आएको परिवर्तन निकै लोभलाग्दो र प्रशंसनीय देखिन्छ । जमिन भएर पनि ज्यान पाल्न नसकिने अवस्थाका कृषक सिँचाइका कारण कृषि क्षेत्रमा आएको आमूल परिवर्तनले आज समृद्धिको बाटोमा लम्केका छन् । जसका कारण ती क्षेत्रका व्यक्तिको आर्थिक उन्नतिमात्र भएको छैन, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सुधारदेखि सामाजिक, सांस्कृतिक क्षेत्रमा आत्मविश्वास बढाएको छ ।

२ संघीय निर्वाचन क्षेत्र, २ नगरपालिका र ११ वटा गाउँपालिकामा विभाजित यस जिल्ला गणेश हिमालको काख हुँदै त्रिशूली, बुढीगण्डकी र आँखु खोला जस्ता नदी किनारामा अवस्थित छ । अनेकौँ नदीनाला, लेक, बेंसी, टार, फाँट र प्राकृतिक मनोरम दृश्यले जिल्ला समृद्ध छ ।

हिमाल, पहाड र समथल टारहरूले सजिएको जिल्लाको ७० प्रतिशतभन्दा बढी व्यक्ति अहिले पनि कृषिमा निर्भर छन् । हजारौँहजार भूभागलाई सिञ्चित गर्ने त्रिशूली र बुढीगण्डकी जस्ता नदी यही जिल्ला हुँदै बगे पनि यहाँका पहाडका कान्ला र समथल टारहरूमा सिँचाइ पुर्‍याउन नसक्दा बन्जर बनेका थिए । तर, सिँचाइका लागि ४ दशकयता थालिएको संस्थागत प्रयासले अब यो स्थिति छैन ।

मरुभूमिजस्ता लाग्ने टारहरू अहिले सुन फलाउने कामधेनुमा परिणत भएका छन् । हिउँद वर्षा गडगडाउने त्रिशूली, बुढीगण्डकी जस्ता नदी हेर्दै पटपट फुटेका टारीले चिरिएको मनमा मह्लम लगाउन भौँतारिनुपर्ने अवस्थामा परिवर्तन आएको छ ।

त्रिशूली, बुढीगण्डकी, आँखु खोला, थोप्पल खोला, महेश खोला, आग्रा खोला, बेल्खु खोला, मलेखु खोला, आँसी खोला, कोसी जस्ता प्रमुख नदी नालासहित १५ सयभन्दा बढी खोला खोल्सामा बग्ने पानीका स्रोतलाई जोगाउँदै नहर, कुलो, पाइपलाइनदेखि लिफ्टका माध्यमबाट जिल्लाको १२ हजारभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, धादिङका प्रमुख इन्जिनियर, राजकुमार तण्डुकार स्थानीय र सरकारको लामो प्रयासबाट धादिङमा सिँचाइको क्षेत्रमा फड्को मार्ने काम भइरहेको बताउँछन् । यसका लागि जहाँ जे सम्भव छ, त्यही प्रविधि अपनाएर सिँचाइ सुविधा पुर्‍याउने प्रयास भएको उनले बताए । यसका लागि सरकारी तहबाट सतह, भूमिगत, लिफ्टलगायत माध्यम अपनाएर सिँचाइको व्यवस्था गरिएको उनले बताए ।

परम्परागत रूपमा स्थानीयले चलाइआएका कुलोमार्फत् हुँदै आएको सिँचाइलाई छाड्ने हो भने सरकारले करिब ३५ वर्षदेखि धादिङमा सिँचाइका लागि संस्थागत रूपमा थालेको प्रयासले आमजनताको मुहारमा खुसी छाएको स्थानीय कृषकहरू गर्वका साथ बताउँछन् ।

स्थानीय उपभोक्ताहरू सिँचाइका कारण अहिले धादिङबासीको मुहार फेरिएको बताउँछन् । सिँचाइमार्फत् कृषि क्षेत्रमा ल्याइएको क्रान्तिका कारण कृषकहरूको जीवनस्तरमै आमूल परिवर्तन देखिएको उनीहरू गर्वका साथ बताउँछन् ।

सिँचाइमार्फत् कृषि क्षेत्रमा आएको क्रान्तिले स्थानीयको भकारीमात्र भरिएको छैन, युवा पाखुरीहरूलाई रोजगारीका लागि रगत चुस्ने विदेशी भूमिको गर्मीमा भौँतारिन जानुपरेको छैन । त्यसैले त कुनै समयका सुख्खा टारीहरूमा सुन फलाइरहेका परिश्रमी हातहरू सिँचाइको यो सुविधा उपलब्ध गराउने सरकार र सम्बन्धित अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरिरहेका छन् ।

वर्तमान र अघिल्ला अधिकारीहरूले पहल गरिदिएकै कारण असम्भव जस्ता स्थानमा पनि पानी पुर्‍याउन सकिएको भन्दै उनीहरूले कृषिमा व्यावसायीकरण सम्भव भएको बताए ।

सिँचाइ हुँदै कृषिमा आएको क्रान्ति र महिलामा जागेको आत्मनिर्भरता अर्को प्रशंसनीय पाटो छ । कुनै समय पिउने पानी नै जोहो गर्न तालुको छाला खियाउनुपरेको दुःख बेहोरेका यी फाँट र टारीका महिला आज आर्थिक रूपमा पनि आत्मनिर्भर बनेको र कसैको मुखापेक्षी बन्नु नपरेको गर्वका साथ बताउँछन् ।

पहिले जस्तो सानोतिनो खर्चका लागि पनि पुरुषहरूको मुख ताक्नुपर्ने अवस्था अहिले नरहेको, बरु आफूलाई आवश्यक पर्ने खर्च टारेर बालबच्चाको खर्चका लागि समेत योगदान दिन सकिएको उनीहरू बताउँछन् ।

सिँचाइले धादिङ जिल्लाको बन्जर माटोलाई व्यावसायिक कृषिको हरियाली जंगलमा मात्र परिणत गरेको छैन, यसैबाट बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक समृद्धि चौगुणा बनाएको छ । यहाँका किसान/उपभोक्ता आफ्नो फेरिएको जीवनस्तर र बालबच्चालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने हैसियत प्राप्त हुनुमा पनि सिँचाइले कृषिमा ल्याएको आमूल परिवर्तनलाई श्रेय दिन हिच्किचाउँदैनन् ।

धादिङका कृषकमा देखिएको यो परिवर्तनले खाडी र मलेसियाको जोखिमपूर्ण श्रममा भौँतारिनुपर्ने विवशता त तोडेकै छ, आफ्ना छोराछोरीलाई विकसित मुलुकमा उच्च शिक्षाको अवसरका लागि ढोका खोल्ने माध्यम पनि यही बदलिँदो विकास बनेको छ ।

धादिङ परेवाटारका स्थानीय कान्छा श्रेष्ठ तिनैमध्येका एक हुन्, जसले आफ्ना छोरालाई यही तरकारी बेचेर जापान पठाएका छन् । उनी ‘आफ्नो आम्दानीको स्रोत नै सिँचाइले ल्याएको कृषि उद्यमशीलता भएको’ सुनाउँछन् ।

कुनै समय सपना जस्तो लाग्ने, तर आफ्नै जीवनकालमा आएको यस्तो परिवर्तन देखेका परेवाटारको अग्रज पुस्ता सिँचाइ र सुधारिएको कृषि प्रणाली थालनी गर्नेहरूप्रति धन्य छ । उनले आफ्नो जीवनमा पनि यसरी सिँचाइ आउला, उजाड टारीहरूमा गड्गडाउने कुलो/नहर चल्ला अनि त्यसैलाई आधार मानेर ३ बाली उत्पादन लिने अवस्था आउला भनेर कहिल्यै नसोचेको बताए ।

आकासे पानीमा निर्भर कृषि जीवन र घैया खेती गरेर गुजारा गरेका ती दिन सम्झने बालुवाफाँट मानुखटारका परिश्रमी कृषक अनेकौँ असन्तोषका बाबजुद सिँचाइले बदलेको जीवनस्तरप्रति कृतज्ञ देखिन्छन् । पानी परे खेत रोपिने अन्यथा बाँझै रहने विवशता बेहोरेका उनीहरू वर्षमा ३ बाली, त्यो पनि विविधीकृत बालीबाट मनग्य लाभ लिइरहेका छन् ।

धादिङका कृषकको जीवनस्तर र आर्थिक उन्नतिका लागि सञ्चालनमा ल्याइएका सिँचाइ योजनाहरू असम्भवझैँ लाग्ने तारेभिरबाट पनि पाइपको सहाराबाट बाँझा जमिन सिञ्चित गर्न पुर्‍याइएको इन्जिनियर बिजेन्द्र श्रेष्ठ बताउँछन् । त्यस्तैमध्येको धुँस्वाफाँटको एउटा सिँचाइ कार्यक्रम, जसका लागि तात्कालीन समयमा देशभित्र कतै गर्न नसकिएको भिर खोपेर पानी लैजाने काम भएको श्रेष्ठ बताउँछन् ।

२०४५ सालमा जिल्ला सिँचाइ कार्यालयका नामबाट काम गरिरहेको यस संरचना मुलुक संघीय प्रणालीलाई गएसँगै २०७५ सालयता भने बाग्मती प्रदेशअन्तर्गत रहने गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका रूपमा कार्यरत छ ।

सिँचाइका लागि आवश्यक संरचना निर्माण एवं व्यवस्थापन गरी कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने, ऊर्जा प्रविधि तथा ग्रामीण विद्युतीकरणको विकास र जल उत्पन्न प्रकोपहरूको न्यूनीकरण तथा रोकथाम गर्ने दीर्घकालीन उद्देश्यका साथ काम भइरहेको जिल्ला कार्यालय प्रमुख तण्डुकार बताउँछन् ।

जिल्लामा सञ्चालित सिँचाइ परियोजनाले सुख्खा टंगिन बनेर लडेका थुप्रै टार अहिले सुन फल्ने स्थलका रूपमा परिणत भएका छन् । सिँचाइ सुविधा पाएपछि यहाँका बासिन्दाको जीवनस्तर उक्सिएको मात्र होइन, आर्थिक उपार्जनबाट बालबालिकाको शिक्षा, स्वास्थ्यदेखि रोजगारीका वैकल्पिक माध्यमहरू समेत उपलब्ध हुन थालेको प्रमुख इन्जिनियर, तण्डुकारले बताए ।

कृषिमा आधारित ठुलो जनसंख्याको जीवन सहज बनाउन यस कार्यालयमार्फत् सञ्चालित सतह, लिफ्ट सिँचाइ, नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाहरूको कार्यान्वयन र यसले आर्थिक उपार्जनमा दिएको योगदानको कृषकहरू नै मुक्तकण्ठले प्रशंसा गरिरहेको देख्दा सिँचाइ किसानका लागि कति धेरै महत्व राख्छ भन्ने प्रष्ट हुन्छ ।

१ लाख ९२ हजार ४८७ हेक्टर भौगोलिक क्षेत्रफल ओगटेको जिल्लामा खेतीयोग्य भूमि ४८ हजार १३६ हेक्टर रहे पनि ३५ हजार हेक्टरमा सिँचाइ पुर्‍याउन सकिनेमा हालसम्म करिब १३ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याउन सकिएको कार्यालयको तथ्यांक छ ।

त्रिशूलीदेखि बुढीगण्डकी किनार र पहाडी क्षेत्रका हजारौँ हेक्टर तथा बन्जर क्षेत्रमा पानी उपलब्ध गराई उत्पादनशील बनाउनु सबै तहका सरकार लागि चुनौती पनि बनेको पनि इन्जिनियर तण्डुकारले बताए ।

धादिङ जस्ता मध्य पहाडी क्षेत्रका जिल्लामा सिँचाइ परियोजनाले पुर्‍याएको योगदान निकै महत्वपूर्ण छ । यद्यपि, पहाडी धरातल भएकाले नदी खोलामा आउने बाढी, पहाडी भूभागमा जाने पहिरो र सुख्खायाममा पानीको स्रोतको कमी या सुक्ने जस्ता अवरोध यसका प्राकृतिक चुनौतीका पक्ष हुन् ।

यी पक्षहरूलाई छिचोल्दै स्थानीय उपभोक्ताबीचको साझेदारीमा योजनाहरू सञ्चालन र कार्यान्वयन गर्न सक्दा कृषिको व्यावसायीकरणसँगै कृषकको मुहारमा खुसी छर्न सकिन्छ भन्ने सकारात्मक दृष्टान्त धादिङमा सञ्चालित सिँचाइ परियोजनाहरूले दिएका छन् ।