यी हुन् नेपालमा उपलब्ध करोडमाथिका ५ इभी, कुनको मूल्य कति ?

यी हुन् नेपालमा उपलब्ध करोडमाथिका ५ इभी, कुनको मूल्य कति ?


काठमाडौँ ।

नेपाललाई सस्तो सामान आयात गर्ने र उपभोग गर्ने देशका रूपमा चिनिन्छ ।

सामान्य उपभोक्तको क्रयशक्तिका आधारमा आउने कारहरूको बीचमा अधिक महँगा कारहरू पनि भित्रिरहेका छन् ।

पछिल्लो समय डिजलरपेट्रोलबाट चल्ने कारको तुलनामा विद्युतीय कारले प्रभुत्व जमाउँदै लगेको छ ।

हाल नेपालमा उपलब्ध १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ५ वटा विद्युतीय कारहरू निम्न छन् ।

बिएमडब्लू आइएक्स-३

जर्मन प्रिमियम कार ब्रान्ड बिएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा बिक्री भइरहेको छ ।

८० किलोवाट आवर क्षमताको ब्याट्री र २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटरमा उपलब्ध आइएक्स–३ ले ४०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटीपीको परीक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

पानारोमिक ग्लास रुफ, ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको एसयुभीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइट पाउन सकिन्छ । यसको मूल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको हो ।

टेस्ला मोडल थ्री र वाई

अरेटी इन्टरनेसनलले नेपालमा बिक्री गर्दै आएको टेस्ला मोडल वाई अर्को प्रिमियम कार हो । विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार भएको मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । साथै, टेस्ला मोडल वाइमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर छन् ।

टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्विल, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियोसहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेसन डिस्प्ले रहेको छ ।

टेस्लाको मोडल वाई रियर ह्विल र अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्विल ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्विल ड्राइभ सिस्टममा अगाडि र पछाडि रहेको दुवै मोटरको संयुक्त मोटरको पावर २९१ किलोवाट छ ।

टेस्लाले मोडल वाईमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

नेपाली बजारमा रियर ह्विल ड्राइभ अप्सनको मूल्य १ करोड ९० लाख रुपैयाँ तोकिएको छ भने अल ह्विल ड्राइभको २ करोड ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।

टेस्ला मोडल थ्री पनि महंगो सेडान कार हो । कम्पनीले यसलाई १ करोड २० लाख मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

अउडी क्युफोर

अउडी क्युफोर इट्रोन पनि लग्जरी इलेक्ट्रिक कार हो । यसको क्याबिन क्लिन मिनीमलिस्टिक डिजाइनमा तयार भएको छ । सफ्ट टच मेटिरीयल प्रयोग भएको क्याविन पूरै व्ल्याक थिममा सजिएको छ ।

अउडी क्युफोर इट्रोनमा ५५ किलोवाट आवरको ब्याट्री प्याक छ, यसलाई सिंगल चार्जमा ३५० किलोमिटर गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरको मद्दतले ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

रियर ह्विलमा १२५ किलोवाटको मोटर रहेको क्युफोर एसयुभीको टप स्पिड क्षमता १६० किलोमिटर प्रतिघन्टा छ । यसलाई ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुडाउन सकिन्छ । यसको मूल्य १ करोड ५० लाख रुपैयाँ छ ।

किया इभी-६

किया इभी सिक्स नेपाल आएको छैन । अहिले बुकिङ लिइरहेको यो प्रिमियम कार अबको केही दिनमा नै नेपाल आउने छ । कम्पनीले यसको मूल्य १ करोड २४ लाख ९० हजार निर्धारण गरेको छ ।

हुन्डाई मोटर ग्रुपको ‘इजिएमपी’ (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर उत्कृष्ट पर्फमेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनको लागि प्रसिद्ध छ ।

किया कनेक्ट (युभिओ) फिचरको साथ उपलब्ध हुने इभी-६ बाट कुनै अर्को साधन पनि गर्न पनि सकिन्छ । त्यसका लागि ३.६ किलोवाटको चार्जर दिइएको छ । चालकलाई सहज होस् भनेर कारमा वायरलेस फोन चार्जर, एडप्टिभ ड्राइभिङ बिमसहितको ड्युल एलइडी हेडल्याम्प, चालक र अगाडिको प्यासेन्जरका लागि प्रिमियम रेग्जिनको सिट जस्ता फिचर दिएको छ ।

कियाले ईभी–६ मा जिटी लाइन भेरियन्टमा ७७।४ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

सम्भवत नेपाल आउने इभी–६ मा १६८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहनेछ । यसमा रहेको ब्याट्रीलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने कम्पनीको दाबी छ ।

हुन्डाई आयोनिक-५

हुन्डाई आयोनिक फाइभ नेपाल उपलब्ध प्रिमियम कारमध्ये एक सफल र टेस्टेड क्रसओभर हो । अहिले यसको मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ छ ।

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक ५ को सबैभन्दा बलियो पक्ष हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको कारण यसले ३५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ ।

आयोनिक ५ नेपालमा उपलब्धमध्ये सबैभन्दा छिटो चार्ज हुन सक्ने इभी हो । ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले यसलाई १८ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

युरोप, अमेरिकी र एसियाली देशमा बिक्री हुँदै आएको आयोनिक ५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।

आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आर्मरेस्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टिक बोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो । –स्रोतः मेरो अटो