हाथवे इन्भेष्टमेन्टको आइपिओमा पर्‍यो ४ गुणा बढी आवेदन

हाथवे इन्भेष्टमेन्टको आइपिओमा पर्‍यो ४ गुणा बढी आवेदन


काठमाडौं ।

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओमा ५८ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा आज (भदौ २२ गते) बिहान सम्ममा ४ लाख ७७ हजार ९२९ जना आवेदकले १ करोड १७ लाख ७४ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् ।

यो मागभन्दा ४.८५ गुणा बढी आवेदन हो । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले बिहीबार (भदौ २१ गते) देखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ ।

बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपिओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।