कैदी हत्या प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता


खाँदबारी ।

संखुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ प्रहरी र ८ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवलदार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुङ र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए ।

यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरू राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संखुवासभाको मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।