६०० प्रतिशत कर बढाएपछि नगरपालिकामा तालाबन्दी

६०० प्रतिशत कर बढाएपछि नगरपालिकामा तालाबन्दी


बर्दिया ।

बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगरपालिकाले आमनागरिकको चाहनाविपरीत अत्यधिक कर वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरूले राजापुर बजारसमेत बन्द गराए ।

शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ति, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।

नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरूको आरोप छ ।

भदौ १५ गते वडा कार्यलयहरू घेराउ, १८ गते नगरपालिका घेराउलगायत शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि नगरपालिकामा तालाबन्दी गरिएको एमाले बर्दियाका उपसचिव पहाडी थारुले बताए ।

गत वर्षको तुलनामा यस वर्ष ६ सय प्रतिशतभन्दा बढी कर वृद्धि भएको स्थानीयको गुनासो छ । राजापुर नगरपालिका–४ का मधुवाला थारुले गत वर्ष ६२५ रुपैयाँ कर तिरेकामा यस वर्ष १० हजार ४६ रुपैयाँ कर तिर्नुपरेको बताए ।

यता, राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दाबी गरेका छन् ।