कृषि थोक बजार लालबन्दी बाट १४ करोड बढीको तरकारी बाहिरीयो

कृषि थोक बजार लालबन्दी बाट १४ करोड बढीको तरकारी बाहिरीयो


सर्लाही ।
लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो महिना १४ करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिना साउनमा १४ करोड ३९ लाख ६१ हजार ६५० रुपैयाँ बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार आव २०८०/८१ को पहिलो महिना साउनमा २ करोड ८९ लाख ९ हजार ६०० किलो तरकारीबाट १४ करोड ३९ लाख ६१ हजार ६५० बराबरको तरकारी निकास भएको हो ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

संघीय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलगोभी, बन्दा, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडे खुर्सानीलगायतका तरकारी निकासी हुने गरेको समितिले जनाएको छ ।