काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।
इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।
उनले भने, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।”
इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यता लागेका थिए ।
प्रतिक्रिया