एमजीका थप २ इभी आउँदै, कति पर्ला मूल्य ?

एमजीका थप २ इभी आउँदै, कति पर्ला मूल्य ?


काठमाडौं ।

एमजी गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘कोमेट इभी’ र एमजी–४ बजारमा ल्याउने भएको छ ।

कम्पनीले आज आइतबार नक्साल शोरुमबाट कोमेट सार्वजनिक गर्दै छ। कोमेट एमजीले भारतीय बजारलाई ध्यानमा राखेर भारतमा नै उत्पादन गरेको मोडल हो ।

पारामाउन्ट मोटर्सले नेपाल ल्याएको बेलायतको ‘कार अफ दि इयर २०२३’ अवार्ड जित्न सफल एमजी–४ निकै राम्रो गर्न सक्ने मोडल मानिन्छ । कम्पनीले यसलाई प्रिमियम ह्याचब्याक सेग्मेन्ट लिडर बनाउने योजनासहित नेपाल ल्याएको हो ।

यी दुई नयाँ मोडलसँगै एमजीसँग अब ३ मोडलमा इभी उपलब्ध हुनेछ । कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस इभी नेपालको सफल कम्प्याक्ट एसयुभी हो । कम्पनीले आफ्नो नक्सालमा रहेको शोरुम पनि नयाँ तरिकाले रेनोभेट गरेको कारण त्यहीबाट नयाँ मोडल सार्वजनिक हुँदै छन् ।

एमजीले आफ्नो कोमेट र एमजी-४ को मूल्य भने अझै सार्वजनिक गरेको छैन । कम्पनीले २० लाख हाराहारी मूल्यमा कोमेट इभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । एमजी-४ सुरु भेरियन्टको मूल्य ४० देखि ४२ लाख रुपैयाँ रहने अनुमान छ । सबैभन्दा महंगो मोडल लङ रेन्ज जेडएस इभीको मूल्य भने ७१ लाख ९९ हजार रुपैयाँ छ ।

अहिले बिक्री गर्दै आएको स्टान्डर्ड जेडएस इभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ छ । टप भेरियन्ट एमजी(४ को मूल्य ५८ लाखभन्दा माथि हुनसक्ने बताइन्छ ।

आज सार्वाजिनक हुने कोमेटले २०० किलोमिटर अनरोड रेन्ज दिने बताइएको छ भने एमजी(४ चाहिँ २ ब्याट्री अप्सनमा आउने र ३५० र ४५० किलोमिटर रेन्ज दिने बताइएको छ । जेडएस इभी पनि ३५० देखि ४४० किलोमिटरसम्मको रेन्जमा उपलब्ध छ ।