आलुका पारखीका लागि ‘आलु महोत्सव’

आलुका पारखीका लागि ‘आलु महोत्सव’


बागलुङ ।

बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ ।

खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गरेको छ ।

गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नं ४ को लाम्मेलामा आलु महोत्सव गर्न थालेको हो ।

कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उनको भनाइ छ ।

अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरमा पुग्ने वातावरण सिर्जना गर्ने अध्यक्ष बुढामगर बताउछन्। वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएको जनाउँदै उनीहरुलाई गाउँपालिकाले पनि अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।

“हाम्रो पालिकाको तमान, लाम्मेला, नर्जाखानीलगायतका थुप्रै गाउँमा आलु उत्पादन हुन्छ, तर बजारमा भने भारतबाट आएका विषदीयुक्त आलु बिक्री हुन्छ, अब बाहिरबाट आउने आलुलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि तमानखोलामा पहिलो पटक आलु महोत्सव गर्दैछौँ”, अध्यक्ष बुढामगरले भने, “महोत्सवले यहाँको आलुको प्रचार हुनेछ, तमानखोलाको आलु एउटा ब्राण्ड बन्नेछ, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने र आयआर्जनको राम्रो माध्यम बनाउने उद्देश्य लिएका छौँ ।”

महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।