व्यापारीहरू खाद्यान्नसमेत आयात गर्न अग्रसर हुनु दुःखद् : मन्त्री रिजाल

व्यापारीहरू खाद्यान्नसमेत आयात गर्न अग्रसर हुनु दुःखद् : मन्त्री रिजाल


वीरगन्ज ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पछिल्लो समय व्यापारीहरू खाद्यान्नसमेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन्।

मन्त्री रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने बताउँदै यसले मुलुक समृद्धिको बाटोमा लम्किन नसक्ने बताए। आइतबार वीरगन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेस प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।

मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको छ।

यस्तै, मन्त्रालयले वाणिज्य नीतिमार्फत् बजार विकास गर्ने, मूल्य शृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागेको हो।

मन्त्राललयले नयाँ वाणिज्य नीति २०८०को मस्यौदा तयार गरि सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको हो। मन्त्रालयले वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा प्रदेश स्तरीय छलफलको क्रममा मधेस प्रदेशको वीरगन्जमा छलफल गरेको हो।

छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाइ हुने बताए।

मन्त्री रिजालले परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिनमा आर्थिक विकास र निमार्णका रूपमा अघि बढनुपर्नेमा जोड दिए। सरकारले उद्योग व्यापार गर्ने नभई सहजीकरणसम्म गरिदिने भएकाले उद्योग व्यापार निजी क्षेत्रले नै गर्ने उनको भनाइ छ ।