काठमाडौँ ।
वैदेशिक रोजगारीमा पठादिने भनी प्रलाेभन देखाएर लाखौँ रकम ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बियामा चक्लेट प्याकिङको काममा मासिक डेढ लाख तलब हुने भनी पीडितबाट १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन रहेका ४० वर्षीय राजकुमार लामिछाने पक्राउ परेका छन् ।
स्थायी घर धादिङ रही हाल भक्तपुर बस्ने लामिछाने बलराम थापासमेत गरी ३ जनालाई प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने भन्दै पटक-पटक गरी सो रकम लिई सम्पर्कविहीन भएका थिए ।
यस्तै, टर्की पठाउने भनी २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन २३ वर्षीय चित्रबहादुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्थायी घर कैलाली भई हाल नयाँ बसपार्क बस्ने मगरले टर्कीको होटलमा काम गर्न ५ लाख रुपैयाँ लाग्ने र मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी निशान खड्कालाई प्रलोभनमा पारेका थिए ।
यसैगरी, प्रहरीले फ्रान्स पठाउने भनी १४ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका ४९ वर्षीय वीर बहादुर गुरुङलाई पक्राउ गरेको छ । स्थायी घर स्याङ्जा भई हाल काठमाडौंको सुकेधारा बस्ने गुरुङले राजभक्त रानाभाटलाई फ्रान्सको होटलमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने र त्यसका लागि १७ लाख रुपैयाँ लाग्ने भन्दै पैसा उठाएका थिए ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया