जनप्रतिनिधि र कर्मचारीकालागि काठमाडौं महानगरले ३ करोडमा किन्यो ८ वटा ईभी

जनप्रतिनिधि र कर्मचारीकालागि काठमाडौं महानगरले ३ करोडमा किन्यो ८ वटा ईभी


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ ।

महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।

महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले ८ मध्ये ४ वटा गाडी काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने बताए ।

क–कसले कसरी प्रयोग गर्ने विषय जनप्रतिनिधिले नै निर्णय गर्ने उनले बताए । महानगरले टाटाको नेक्सन ईभी प्रति इकाई करिब ३८ लाख रुपैयाँमा किनेको श्रेष्ठले बताए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने आवश्यक पर्दा महानगरका कर्मचारी र विषयगत समितिहरुले प्रयोग गर्न पाउने गरी गाडी किनिएको बताए । महानगरमा जनप्रतिनिधिहरु नै संलग्न रहेको १४ वटा विषयगत समितिहरु छन् । यस्ता समितिले पनि विभिन्न कामको सिलसिलामा नयाँ किनिएका गाडीहरु प्रयोग गर्ने उनले बताए ।

२(२ वटा चार्जिङ स्टेसन पनि काठमाडौं प्लाजा र सभागृहमा रहने श्रेष्ठले बताए ।