रहेनन् एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङ, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने

रहेनन् एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङ, शव भोलिसम्म पार्टी कार्यालयमा राखिने


काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।

चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

२०४८ /२०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ / २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ ।

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।