काठमाडौँ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ सोमबार बिहानैदेखि बिरामी रहेकाे थाहा भएकाे छ । उनलाई ज्वरो आएपछि सोमबार दिनभर घरमै आराम गरेर बसेकाे उनकाे सचिवालय स्राेतले बतायाे ।
नेम्वाङ रुघाखोकी लागेर घरमा आराम गरिरहेको सचिवालयले जनाएकाे छ । आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो ।
घरमै आएका डाक्टरले साँझ नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो ।
पारिवारिक स्रोतका अनुसार डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानु नपर्ने, घरमै आराम गरे बिसेक हुने बताएर फर्किएका थिए ।
बेलुका अलिकति झाेलिलाे पदार्थ खाएर सुतेका उनी राति करिब १ बजेतिर शौचालयमा ढलेकाे अवस्थामा भेटिएका थिए ।
परिवारका सदस्यहरूका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याउँदा राति १ः५० बजेको थियो ।
त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । अस्पताल पुर्यालगत्तै चिकित्सकहरूले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए ।
तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । त्रिवि शिक्षण अस्पताल स्रोतले भन्यो, ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले/नचलेको, सास फेरे/नफेरेको, मुटु चले/नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ ।’
प्रतिक्रिया