मार्केटिङको जागिरले बनायो उद्योगी :५ करोड लगानी, २० जना बढीलाई रोजगारी

मार्केटिङको जागिरले बनायो उद्योगी :५ करोड लगानी, २० जना बढीलाई रोजगारी


चितवन ।

रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ ।

जुन क्षेत्रमा रोजगारी पाइएको भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् ।

यहाँका १ युवा आयुर्वेद औषधिको बजारीकरण (मार्केटिङ) को काम गर्दागर्दै आफै उद्योगी बनेका छन् ।

भरतपुर महानगरपालिका–६ गीतानगर निवासी चक्रपाणि न्यौपाने त्यस्तैमध्ये एक हुन् । उनले केही समय आयुर्वेदको मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गरेका हुन् ।

विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिएका न्यौपाने विसं २०४२ मा परिवारसहित चितवनको गीतानगर झरे । स्थानीय कलेजबाट स्नातकसम्म अध्ययन गरेपछि उनले एशियन हर्बल उद्योगका सामान मार्केटिङ गर्न थाले । २५ वर्षको उमेरमा काम थालेका न्यौपानेमा ४ वर्ष मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो ।

आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित २० लाख हाराहारीको लगानीमा उनले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योग सुरु गरे । विस्तारै उद्योगबाट उत्पादित औषधि खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा टहरा निर्माण गरेर न्यौपानेले उद्योग सारे ।

नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि. सञ्चालन गर्दैै आएका उनले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गरे । न्यौपानेले भने “आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ ।” उनले थपे “एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।”

उत्पादन र मार्केटिङ पनि आफै गर्दै आएका न्यौपानेले उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले ५ करोडभन्दा बढी लगानी पुगेको छ ।उनले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गरेका थिए । सुरुवाती चरणमा ७ वटा औषधिभ उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् ।

विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले भने, “सुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवनसहित काठमाडौँ, बुटवल, ईटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।” अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उनले बताए ।उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ (जडीबुटी) नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो ।

वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडौं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उनले जोड दिए, “हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौँ ।”

२० जनाभन्दा बढीलाई रोजगारी दिएको उनले भने “कति कमाएँ भन्ने गौण विषय हो, धेरैलाई चुलोे बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।” एलोपेथीको उपचार गर्दागर्दै जीवनबाटै निराश भएकासमेत आफूकहाँ आएर निको भएको उनको जिकिर थियो छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले उनको भनाइ थियो ।