सवारी साधनको विवरण डिजिटलाइजेसन

सवारी साधनको विवरण डिजिटलाइजेसन


म्याग्दी ।

गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युतीय अभिलेखीकरण) गर्न थालिएको छ ।

सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युतीय अभिलेख राख्ने काम सकिएको बताए । “कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो”, उनले भने, “यस वर्ष बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्डालाई डिजिटलाइजेसन गर्न लागेका छौँ ।”

कास्कीको यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर नमूना र परीक्षणका लागि देशमै पहिलो पटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो । चालुु आर्थिक वर्षमा बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको अभिलेख डिजिटलाइजेसन गर्न दशरदश लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । “बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्”, उनले भने, “यस वर्ष दुवै कार्यालयलाई सवारी साधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुम्रेमा दर्ता भएका सवारी साधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेशन हुन्छ ।”

प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित फाइल र ढड्डालाई पनि डिजिटलाइजेसन गर्न चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिएको छ । ३ लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखेको यातायात कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिज्यालले बताए । “फाइल र ढड्डा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो”, उनले भने, “अहिले सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको छ ।” फाइल र ढड्डा खोज्दा हुुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ । पुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ ।

सफ्टवेयरमा सवारी साधनको नम्बर, कम्पनी, रङ, बीमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण राखिएको छ । सफ्टवेयरमा कर निर्धारण गर्ने बिधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा सबैभन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् । आव २०७९/८० मा ११ हजार, २०७८/८० मा १९ हजार र २०७७/७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए । सो कार्यालयले गत आवमा २ अर्ब ५ करोड ६० लाख ४८ हजार दुई सय ६४ राजस्व सङ्कलन गरेको थियो ।