बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्छन् कृषक

बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्छन् कृषक


अछाम ।

अछामका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् ।

“मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मंगलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुंगानाले भने । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतंकले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताउनुभयो । “रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन”, भण्डारीले भने । वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न नसकिएको उनी बताउछन् ।

बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन् ।

बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ । साउनयता हालसम्म जिल्लामा जंगली जनावरको आक्रमण बाट १ व्यक्तिको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृतकका परिवारलाई १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए ।

त्यस्तै उनका अनुसार जिल्लाका किसानको अन्नबाली जंगली जनावरले नोक्सान पु¥याएको भन्दै ११८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्यांकन समितिले क्षतिको मापन गरी कम्तीमा १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ । जिल्लामा जंगली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्युु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको १० हजार एवं गाई, गोरु र भैँसीको ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

किसानहरुको अन्नबाली जंगली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् । साथै कसानहरुले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन् ।