सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट कहिले ?

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट कहिले ?


काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आइपिओ भदौ २८ गते बिहीबार बाँडफाँट हुने भएको छ।

एनआइएमबी एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने भएको हो। कम्पनीको आइपिओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ ।

उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबारदेखि निष्कासन गरेको आइपिओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो ।

इन्स्योरेन्सको आइपिओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ। इन्स्योरेन्सले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो। जसमा १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

कम्पनीको प्राथमिक सेयरमा १५ लाख १० हजार ६९३ आवेदकले सेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ संकलन भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो।

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ।

यसरी, इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो। त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।