सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ कहिले ?

सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ कहिले ?


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।

सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको छ । सोही दिन वा सोही दिनबाट हेर्दाहेर्दैमा राखेर मुद्दाको अन्तिम सुनुवाइ गर्न लागिएको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।
आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ ।

सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सो को जानकारी सुरु अदालतलाई दिनुपर्ने आदेश दिएको थियो । सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो ।

असोज १ गते वा सो दिनबाट हेर्दाहेर्दैमा राखेर अन्तिम सुनुवाइ गरिएमा सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । अभियोग दाबीबाट सफाइ पाएमा उनीमाथिको सर्त र प्रतिबन्धहरु हट्नेछन् भने दोषी ठहर भएमा सजाय भुक्तानका लागि उनी जेल जानेछन् ।