‘चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठुलो दुर्घटना हुने हो थाहा छैन’

‘चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठुलो दुर्घटना हुने हो थाहा छैन’


रामेछाप ।

निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ ।

सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारी छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका छन् ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५० किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधन चिप्लिएर चल्नै नसक्ने भएका छन् । ‘सडक जथाभाबी खनेर छाडिएको छ, चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठुलो दुर्घटना हुने हो थाहा छैन’, रामेछाप नगरपालिका–२ देउरालीका रामबहादुर बुढाथोकीले भने ।

भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर निर्धारित समयमा ४० प्रतिशत काम पनि नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्याद थप गरिएको छ ।

सडक जताततै भत्काएर छाडिदिँदा सडक मुनिका बस्ती समेत जोखिममा परेका छन् । सडक खन्दा निर्माण व्यवसायीले व्यक्तिको जग्गा र घर–गोठ माथिबाट समेत ढुङ्गा–माटो झारिदिएर अन्याय गरेको रामेछाप नगरपालिका–३ साँघुटारका स्थायी बासिन्दा समेत रहेका नेकपा एमाले जिल्ला कमिटी रामेछापका उपसचिव होतराज ढकाल बताउँछन् । ‘जताततै भत्काएर छाडिएको सडकले कतिपयको खेतीयोग्य जमिन पुरेको छ, कतिपयको घर–गोठ उठिबास लाग्ने अवस्था छ’, उनले भने ।

रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्की बारम्बार निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कामले गति नलिएको बताउँछिन् । आयोजनाको कारण जनप्रतिनिधिले समेत खप्की खानु परेको उनले बताइन् ।

काठमाडौं र तराईबाट रामेछापको सालु, देउराली, साँघुटार लगायता क्षेत्रका साथै दोलखाको लिखु, घोराखोरी लगायतका क्षेत्रमा जाने यातायात साधन यही सडक भएर चल्दछन् । निर्माण कम्पनीले बाटो बिगारेको कारण साँघुटारदेखि सालुसम्म यातायात साधनहरू घण्टौँ फस्ने गर्दछन् । यसरी फसेका गाडी यात्रुहरूले घण्टौँसम्म डोरी लगाएर तान्ने गर्दछन् । निर्माण व्यवसायीले भने समयमा काम गर्न अटेर गरेर नागरिकलाई सास्ती दिँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाइरहेको छ ।