एउटै टोलबाट १० लाखको काँक्रा बिक्री

एउटै टोलबाट १० लाखको काँक्रा बिक्री


रामेछाप ।

रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष डेढ लाख बढीको स्थानीय जातको काँक्रा बेचे ।

श्रीमान्ले मात्र होइन प्रेमबहादुर तामाङले पनि डेढ लाख बढीको काँक्रा बेचे । उनीहरूले यति धेरै आम्दानी होला भन्ने सोचले काँक्रा लगाएका होइनन् । तर काँक्रा राम्रो फल्यो, आम्दानी पनि राम्रै भयो ।

गत वर्ष काँक्रा खेतीबाट राम्रो आम्दानी भएपछि उनीहरूलाई हौस्यायो । यस वर्ष गत सालको भन्दा पनि बढी काँक्रा लगाएका छन् । उनीहरूले मात्र होइन टोलका अन्य किसानले पनि काँक्राको राम्रै खेती लगाएका छन् । ‘गएको वर्ष डेढ लाख लिइयो, यस वर्ष कम्तीमा पनि २ लाख जतिको काँक्रा बिक्री होल’, श्रीमान् तामाङले भने ।

खाँडादेवी गाउँपालिकाको चोप्राङ तथा पात्ले क्षेत्रमा चिसो हावापानी भएको कारण हरियो जानको स्वादिलो काँक्रा उत्पादन हुन्छ । यस वर्ष काँक्राको उत्पादन भर्खर सुरु भएको छ । किसानहरूले ओजको अन्तिमसम्म मौसमी काँक्रा नै बिक्री गर्दछन् ।

यस वर्ष ५० हजार रुपैँया जतिको काँक्रा बिक्री गरिसकेको श्रीमान तामाङले बताए । काँक्रा फल्ने क्रम चलिरहेकोले यस वर्ष २ लाख बढीको काँक्रा बिक्री हुने उनको अनुमान छ ।

पात्लेका १० घर बढी किसानले व्यावसायिक रूपमा काँक्रा लगाएका छन् । ती सबै किसानले काँक्रा बेचेर एक लाख बढी आम्दानी गर्ने सामाजिक अगुवा श्यामकृष्ण श्रेष्ठ बताउँछन् । ‘एउटा घरले सरदर एक लाखको काँक्रा बेच्छन्, त्यस हिसाबले पात्ले टोलबाटै १० लाख बढीको काँक्रा बिक्री हुन्छ’, उनले भने ।

किसानहरूले गाउँमा उत्पादन गरेको काँक्रा संकलन गरी काठमाडौँ पठाउने गर्दछन् । काँक्रा लिन गाउँमा नै गाडी आउने भएकोले बजारको कुनै चिन्ता छैन ।

पात्लेका किसानले आफ्नो टोलको मात्र होइन गाउँका अन्य टोलका काँक्रा समेत संकलन गरेर बिक्रीको लागि पठाउने गर्दछन् । यसले गर्दा स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । किसानले पनि राम्रो आम्दानी लिएका छन् ।