बाँस बेचेरै करोडपति बनेका ९० वर्षीय गुरुङ भन्छन्-‘जागिरभन्दा कृषि पेशा ठिक’

बाँस बेचेरै करोडपति बनेका ९० वर्षीय गुरुङ भन्छन्-‘जागिरभन्दा कृषि पेशा ठिक’


तनहुँ ।

व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुगे ।

उमेरले डाँडा काटिसके पनि उनमा जोश र जाँगर भने १६ वर्षे जावनीको भन्दा कम छैन ।

साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेशामा लागेका उनले एक सयरोपनीभन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आएका छन् ।

८ वर्षसम्म अधिकृतस्तरको सेवा गरेका गुरुङले विसं २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गरेका थिए । भारतको कानपुरमा बिएसी पास गरेर आएपछि नेपालका विभिन्न जिल्लामा जागिर गर्दै तनहुँमा सरुवा भएर आएपछि कृषि क्षेत्रतर्फ आफ्नो मोह बढेको उनले बताए।

जिल्लामा आएको ४ वर्षपछि अन्यत्र जिल्लामा सरुवा गभएपछि जागिरभन्दा कृषि पेशातर्फ आर्कर्षित भएको गुरुङको भनाइ थियो । यस जिल्लाबाट अन्यत्रै सरुवा गरेपछि बगैँचा छाड्ने कि जागिर भन्ने दुबिधा भयो र अन्ततः जागिर नै छोडिएको उनले बताए ।

विगत वर्षमा वार्षिक ३० लाखदेखि ४० लाखसम्मको बाँस र बाँसका बिरुवा बिक्री गर्दै आए पनि गतवर्ष मुस्किलले १० लाख बराबरको बिक्री गरिएको गुरुङले बताए । महामारीको रुपमा फैलिएको कोरोनापश्चात् मानिस विदेश पलायन हुने क्रम बढेसँगै कृषि पेशा ओझेलमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

“अबको एक वर्षभित्र अगरउड बिक्री गर्न लायक भएकाले करोडौँका अगरउड बिक्री गर्ने योजना छ”, गरुङले भने, “२६ वर्ष पूरा भएका २ सय ५० वटा रुखमा कृत्रिम रसायन दिई अगरउड उत्पादन गर्न लागेको छु । भारतको आसामबाट प्रतिबिरुवा ५० रुपैयाँमा खरिद गरेर व्यावसायिकरुपमा बिरुवा लगाइएको अगरउड बिक्री हुन थालेपछि मात्रै खुसीको क्षण आउने छ ।”

अगरउडको खेतीसँगै उनले बर्सेनि करिब २÷३ लाखको अगरउडका बिरुवा बिक्री गर्दै आएका छन् ।

रित्तो डोको लिएर आएको थिएँ, छिट्टै भरी नोट लिने सपना बुनेको छु,गरुङले भने,“सरकारले अगरउड र गाँजा खेतीलाई बढवा दिनसके देशको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ ।”
अगरउडको बोक्राबाट सिन्केधूप र बाटेको धूप बनाउन सकिन्छ भने सक्कली अगरउड सुनको मूल्य बराबरमै बिक्री हुने अति महँगो बास्नादार बस्तु उत्पादन हुन्छ । किसान गुरुङका बगैँचामा अगरउडका साथै सुगन्ध कोचिला, तेजपात, श्रीखण्ड, एभोकाडो, सुन्तला, कागती, आँप, लिची, रुद्राक्षलगायत फलफूल र जडीबुटी छन् ।

त्यसैगरी बाँसतर्फ स्थानीय, इण्डियन बाँस, लठ्ठे, नियाले चिल्ले, तारुका, ढुङ्ग्रे, मला, तामा, धनुलगायत बीस प्रजातिका बाँस अहिले बगैँचामा छन् ।

सुरुमा बयालिस प्रजातिका बाँस लगाए पनि केही चोरी भएको र केही मरेका कारण बाँसका प्रजाति घट्दै गएको उनले बताए । कृषि क्षेत्रमा नै जीवन बिताउँदै आएका किसान गुरुङमा पछिल्लो समय दुबै मिर्गौलाको समस्या भएकाले केही समय अघिदेखि डायलासिस गर्दै आएका छन् ।

डायलासिसमा मासिक ४५ हजार खर्च गरी उपचार गर्दै आएको उनले बताए ।