उपत्यकाका यी स्थानमा ३ दिन बत्ती नआउने

उपत्यकाका यी स्थानमा ३ दिन बत्ती नआउने


काठमाडौं ।

टेकु सबस्टेसन स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन ३ दिन सट डाउन गर्नुपर्ने भएकोले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।

त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने सूचनामा उल्लेख छ।

यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने सूचनामा जानकारी गराइएको छ। यी ३ वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रभावित हुने भएको छ।

प्राधिकरणका अनुसार ६६ केभी स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म ३ दिन अवरुद्ध हुने भएको छ। जसका कारण कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्रअन्तर्गत ६६ केभी पुल्चोक, बागमती, रिङ रोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसन ९थापाथली, सुन्धारा र के२० बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडर प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ।

यस्तै ६६ केभी स्युचाटार पाटन प्रसारण लाइनअन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडर प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने सूचनामा उल्लेख छ। यसबाट कुलेश्वर वितरण केन्द्रअन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसन (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडर शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ।

वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित र बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ।