बिहानैदेखि फेसबुक ‘बा’हरूका फोटोले नियन्त्रणमा लिएछन् । उठेर फेसबुक खोलेको मात्र के थिएँ, स्क्रोल गर्दै जाँदा बाबाहेक केही देखिनँ ।
त्यसपछि झल्यास्स ब्युँझिए । ए ! आज त बाको मुख हेर्ने दिन पो !
उठेर यताउति मेरा बालाई हेरेँ । आमाले भनेपछि थाहा पाएँ– बा त खेतमा पुगिसक्नुभएछ ।
मेरा बा यस्तै हुन् । पहिले–पहिले अलि अल्लारे हुँदा मलाई कहिलेकाहीँ दिक्क लाग्थ्यो– कति काम गर्नुपरेको होला भनेर !
अनि आज सम्झन्छु– लेकबेँसी गर्दा कहिलेकाहीँ त बासँग चाडपर्वमा पनि भेट हुँदैनथ्यो । साँच्चै बाले हाम्रा लागि नै गरेका थिए भन्ने त्यो अल्लारे उमेरमा सोच आइदिएको भए बाको त्योबेलाको दुःखमा थोरै मह्लम बन्थ्यो कि !
होस् ! यी विगतका कुरा । तर, मेरा बाले मेरो भविष्य कोर्न गरेको प्रयत्न भने अहिले मानसपटलमा खेलिरहन्छ ।
म सानो हुँदा ठुलाबाको ज्वारीकोटमा राखेको पैसा चोर्दा बाले इँजारे कट्टु भिज्नेगरी नहानेको भए, बाहिर साथीहरूसँग झगडा गरेर राति अबेर फर्किंदा बाले ढोका थुनेर बाहिरै नराखेको भए, पढ्न जाँदा खेल छुट्टीमा भागेर आउँदा सिर्कनाले सुम्ला नबसाएको भए, बाख्रालाई घाँस काट्न जाँदा रित्तै फर्किएपछि बाख्रा खोरमा नै मलाई नराखेको भए आज यो लेख्न सक्ने हुन्थेँ होला र !
अहिले त मलाई बाप्रति निकै दया लाग्छ । अनि आजमात्र होइन दिनहुँ मेरा बाको मुख हेर्दा श्रद्धाले हृदय फराकिलो हुन्छ । मेरा बाका कुटाइमा मात्र होइन, गाली र बोलीहरूमा पनि उपदेश थियो ।
२०६३ मा एसएलसी दिएपछि काठमाडौँ हिँड्ने बेलामा मेरा बाले दिएको ४ हजार याद आइरहन्छ । सडकमा काम गरेर जोहो गरेको उक्त ४ हजार रुपैयाँ नै मेरो जीवनको सबैभन्दा अमूल्य बन्यो ।
अहिले पनि मैले कमाएका हरेक हजारका नोटमा बाको अनुहार देख्छु, बारीमा काम गरेर माटो नै माटो भएको हात टकटक्याउँदै दिएका ती नोटको सम्झनाले मेरो सपनाको मार्गमा हिँड्न प्रेरित गरिरह्यो ।
पत्रकारिता पढ्ने व्यग्र आकांक्षा त थियो नै, त्यसमाथि पत्रकार बन्ने सपनाले झकझक्याइरहेको थियो । पत्रकारिताबिनाको के पढाइ ? भन्ने सोचले समाजशास्त्र लिएर पढ्दा सन्तुष्ट हुन नै सकिनँ । पछि सहपाठीहरूले प्लस टू गरिसक्दा पनि मलाई पत्रकारिता विषयको भोकले छटपटी बनाइरहेको थियो ।
२ वर्षको ग्यापपछि कैलाशकुट क्याम्पसमा भर्ना गरी पत्रकारिता विषय अध्ययन गरेँ । मेरा बालाई छोरा यही बनिदेओस् भन्ने विशिष्ट चाहना कहिल्यै रहेन । तर, बालाई विश्वास के थियो भने छोराहरू सत्मार्गमा हिँडे भने जिन्दगी सुन्दर नै हुन्छ ।
त्यसैले मेरा बा दुनियाँकै इमानदार बा हुन् भन्ने लाग्छ । कहिलेकाहीँ सोच्छु– सायद यो देशमा नीति निर्माण गर्ने बाहरू पनि मेरै बाजस्तो भइदिए देश कति निःस्वार्थी र स्वतन्त्र बन्थ्यो होला है !
मेरा बालाई कसैले दिएनन् भन्ने मतलब छैन, उनलाई न राजनीति थाहा छ, न त देशको परिस्थिति नै । मेरा बा आफैँ नीति निर्माता हुन्, आफैँ कानुन हुन् । त्यसैले मेरा बा आफैँ भरिपूर्ण छन् । थाहा छ त केवल कृषि कसरी गर्ने, भैँसीलाई घाँस कति हाल्ने, खोलेफाँडो कतिबेला हाल्ने । बरु मेरा बालाई छिमेकीको भैँसीले कति दूध दिन्छ भन्ने चासो छ, बाख्राले कति वटा पाठा पायो भन्ने चासो छ ।
अहँ ! यो देशको फोहोरको राजनीतिले डुङडुङी गन्हाएको चरित्रको विषयमा मतलब नै छैन । मैले गल्ती गर्दा मेरा बाले इँजारे कट्टु भिज्ने गरी हानेका थिए र त हाम्रो चरित्रमा कसैले औँला उठाउन सक्दैन ।
बरु कृष्ण महरा बाहरूका छोराहरूका चर्तिकला सुन्दा शिर निहुरिन्छ । अनि कहिलेकाहीँ सोच्छु– मेरा बाजस्तै महरा बाहरू पनि भइदिएको भए !
मलाई एउटा कुराचाहिँ के विश्वास छ भने बाको कुटाइ, लात्ती र गाली खाएका मजस्ता छोराहरू गलत बाटोमा जान्छन् भन्ने परिकल्पना नै गर्न सकिँदैन ।
फेसबुकमा बाको फोटो पोस्ट्याउनेहरूमा बाप्रति कति श्रद्धा छ भन्ने म आकलन त गर्न सक्दिनँ, तर फेसबुकमा फोटो नराखे पनि मेरा बालाई कुनै आपत्ति छैन ।
म बर्दिबास निस्किने बेलामा मैले बालाई भनेँ– बा ! आज त बाको मुख हेर्ने दिन रहेछ नि !
मैले यसो भनेपछि बाले भने– बिस्तारै जा । अनि खाना खान छिट्टै आइज ।
फेरि सोचेँ– आहा ! मेरा बा कति महान् ।
मेरा बालाई पनि फेसबुकमा हालेको फोटोमा विश्वास नै लाग्दैन । भन्छन्– छोरा छलकपट, कपटपूर्ण ढंगले बाहिरी आवरणमा देखाउने श्रद्धा भयंकर डरलाग्दो हुन्छ ।
मैले मनमनै सोचेँ– बाको फोटो फेसबुकमा नराखेर राम्रै गरिएछ । बा रिसाएका रहेनछन् । मैले फेरि बालाई सोधेँ– बा फेसबुकमा एउटा फोटो त राखौँ क्यारे !
बाले फेरि भने– होस्, त्यो नाटक नगरेस् ।
प्रतिक्रिया