सहिद मेमोरियल अस्पताललाई जिल्ला प्रशासन कार्यालयले पठायो ७ दिने पत्र

सहिद मेमोरियल अस्पताललाई जिल्ला प्रशासन कार्यालयले पठायो ७ दिने पत्र


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा कर्मचारी भर्ना तथा छनोटमा विवाद देखाएको छ।

सार्वजनिक सूचना प्रकाश गरेर कर्मचारी माग गरे पनि छनोटको क्रममा अस्पताल व्यवस्थापनले नातावाद र कृपावादलाई आधार मानेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी भर्ना प्रक्रिया सम्बन्धी विवरण उपलब्ध गराउन अस्पताल व्यवस्थापनलाई ७ दिने पत्र पठाएको छ।

जिप्रकाका प्रशासकीय अधिकृत शेरबहादुर थापाद्वारा हस्ताक्षर गरेर बुधबार पठाएको उक्त पत्रमा कर्मचारी भर्नाको क्रममा अपनाइएको प्रक्रियाका सम्बन्धमा पछिसम्म फरक नपर्ने सत्यतथ्य विवरण पठाउन भनिएको छ।

अस्पतालले भदौ सात गते मेडिकल डाक्टर, स्टाफ नर्स, प्रशासन अधिकृत, रिसेप्सन कर्मचारी र सीएमए पदको लागि विज्ञापन गरेको थियो। तर कर्मचारी पदपूर्तिको लागि अस्पताल व्यवस्थापनले आफू निकटका व्यक्तिलाई प्रश्नपत्र निकाल्न लगाएको, उत्तरपुस्तिका परीक्षणमा समेत आफ्नै मानिस राखेर नम्बर दिने गरेको भन्दै विष्णु अधिकारीलगायत पीडितको नाममा जिप्रकामा निवेदन दिएका थिए।

यस विषयमा जानकारी लिन अस्पताल प्रशासनसँग पटक पटक प्रयास गरेपनि सम्पर्क हुन सकेन। यो अस्पताल २०६४ सालमा स्थापना भएको हो।