कोका–कोला फाउन्डेसन र माइती नेपालको एकीकृत खेती परियोजनाको थालनी

कोका–कोला फाउन्डेसन र माइती नेपालको एकीकृत खेती परियोजनाको थालनी


काठमाडौं ।

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गरे।

कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवर्द्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ। परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ।

तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ। दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ।

साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

द कोका–कोला फाउन्डेसनले नेपालको लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तिकरणसम्मका विविध परियोजनाहरूमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ। यस्ता पहलहरूले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ।

द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरूसँग साझेदारी निरन्तर गर्दै आएको कम्पनीले जनाएको छ।