गैँडाको आक्रमणबाट च्याउ टिप्न गएकी महिलाको मृत्यु, २ जना रुख चढेर बाँचे

गैँडाको आक्रमणबाट च्याउ टिप्न गएकी महिलाको मृत्यु, २ जना रुख चढेर बाँचे


कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

“बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले भने, “गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।” ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य २ महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार २ जनाले भने रुख चढेर ज्यान जोगाएका छन् ।

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।

सेनाले सँगै च्याउ टिप्न गएका २ जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । २ गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएकी छन् ।