आवासीय भवनको लिफ्ट चुडिँदा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

आवासीय भवनको लिफ्ट चुडिँदा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते


काठमाडौं ।

भारतको ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवम् उचित उपचार सुनिश्चित गरिएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यसअघि महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको थियो ।

निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवम् ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् । बितेका ८ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।