विन्दुकुमार चौहान स्मृति पुरस्कार पशुपतिलाई

विन्दुकुमार चौहान स्मृति पुरस्कार पशुपतिलाई


लुम्बिनी ।

लुम्बिनीका पत्रकार स्वर्गीय विन्दुकुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यस वर्ष पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेसी पत्रकार समाज नेपाल रुपन्देहीले लुम्बिनी खबरका धकधई शाखा प्रमुख पशुपति यादवलाई प्रदान गरेको हो ।

मधेसी पत्रकार समाज रूपन्देही शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउँपालिका प्रमुख मन्जित यादव (सोनु)ले पत्रकार यादवलाई पुरस्कृत गरे । गाउँपालिका प्रमुख यादवले पुरस्कृत यादवलाई दोसल्ला ओढाएर १० हजार नगद हस्तान्तरण गरे ।

रुपन्देहीमा रही विभिन्न सञ्चारमाध्यममा काम गरेका स्व. विन्दु चौहानलाई यसपछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरी पुरस्कार स्थापना गरिएको भन्दै मधेसी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामविकास चौधरीले यसले मधेस क्षेत्रमा रहेका पत्रकारहरूलाई थप सशक्त पार्ने बताए ।

प्रदेश अध्यक्ष चौधरीले स्व. विन्दु चौहानले रुपन्देहीको पत्रकारिता क्षेत्रमा जोखिम मोल्दै पुर्‍याएको योगदानकाे चर्चा गरे । उनले स्व. चौहानको निडर छवि र कार्यकुशलताको सराहना गर्दै इतिहासले उनलाई सम्मान गर्नैपर्ने बताए । सो अवसरमा स्व. चौहानको कष्टपूर्ण पत्रकारिता यात्राको उनले स्मरण गरे ।

कोभिड महामारीका कारण २०७८ भदौ २९ गते मृत्यु भएका चौहानको स्मृतिमा गत वर्ष स्थापना गरिएको पत्रकारिता पुरस्कार रूपन्देहीमा रही जुनसुकै विधाका पत्रकारिता गर्ने एक जना मधेसी पत्रकारलाई प्रदान गर्दै आएको समाजका जिल्ला अध्यक्ष राधेश्याम विश्वकर्माले बताए । गत वर्ष भैरहवाका पत्रकार मोहम्मद हबिबलाई सो पुरस्कार प्रदान गरिएको उनले बताए ।

समाजका जिल्ला सचिव हृदयराम गुप्ताको सञ्चालनमा रूपन्देहीको ओमसतिया गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, तथा स्व. पत्रकार विन्दुकुमार चौहानका छोरा अमित चौहानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।