‘गोरु काण्ड’ले डामाडोल धराने सुकुटीको बजार

‘गोरु काण्ड’ले डामाडोल धराने सुकुटीको बजार


धरान ।

एकातिर किनमेल गर्न कठिन अवस्था छ, अर्कातिर बढ्दो महँगी । महँगी बढेपछि धरानमा राँगाको मासुको मूल्य बढेको छ । उत्पादन लागत बढेसँगै सुकुटीको मूल्य पनि सोही अनुपातमा बढेको छ ।

धरानको भानुचोकमा लामो समयदेखि सुकुटी व्यवसाय गर्दै आएका व्यवसायीहरू पछिल्लो समय महँगीकै कारण सुकुटीको बिक्री कम हुँदै गएको बताउँछन् । दैनिक ५० किलोभन्दा बढी सुकुटी बेच्ने गरेका व्यवसायी श्याम तामाङले अहिले मुस्किलले ८ देखि १० किलो सुकुटी बिक्री हुने गरेको बताए । उनले भने, ‘लागतअनुसारको बिक्री मूल्य नपाउँदा हरेक वर्ष उत्पादनसँगै व्यवसायीको संख्या पनि घट्दै गएको छ ।’

भानुचोकको घन्टाघरपछाडि पहिले करिब ४० जना सुकुटी व्यवसायी हुने गरेको भए पनि अहिले १० देखि १२ जनाले मात्रै सुकुटी बेच्ने गरेका छन् । अहिले धराने सुकुटीको सामान्यतः मूल्य प्रतिकिलो १७ सय रुपैयाँ छ । पसलअनुसार सुकुटीको मूल्य ५० देखि १०० रुपैयाँसम्म फरक हुने गरेको पाइन्छ ।

लामो समयदेखि गर्दै आएको व्यवसाय ह्वात्तै घट्नुको पछाडि सरकारले कोरोना नियन्त्रण गर्न लगाएको लकडाउन मुख्य कारण रहेको व्यवसायी सुरक्षा श्रेष्ठले बताइन् । ‘व्यवसाय सुरु गर्न नपाउँदै लकडाउन भयो । पसलको मासिक भाडा ८ हजार थियो । व्यवसाय नहुँदा भाडा तिर्न पनि मुस्किल परेको थियो । लकडाउनपछि व्यापार राम्रै चलेको छ, तर अहिले महँगीका कारण माग धेरै नै घटेको छ ।’

विशेष गरी चाडपर्व नजिकिँदै गर्दा धराने सुकुटीको माग बढ्ने गरेको छ । जब उत्पादनको माग बढ्छ, यसको मूल्य पनि बढ्ने गरेको छ । सुरक्षाले भनिन्, ‘हुन त चाडपर्वको समय सुकुटीको मूल्य बढ्ने पहिलेदेखिकै चलन हो । तर अहिले आम्दानी घटेका बेला परेकाले कारोबार फस्टाउन सकेको छैन ।’ विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनेहरूले सुकुटी अत्यधिक किन्ने गरेको भए पनि पछिल्लो समय विदेश जाने सुकुटीको मात्रा घटेको उनको भनाइ छ ।

बेलायतमा रहेका आफ्ना काकालाई धराने सुकुटी कोसेली पठाउने गरेकी विराटनगरकी बिना श्रेष्ठ यस पटक भने धराने सुकुटी खरिद गर्न अन्योलमा परेकी छिन् । धरानमा राँगाको भनेर गोरुको सुकुटी बिक्री हुन्छ भनेर सुनिरहेको उनले बताइन् । उनले भनिन्, ‘धरानबाट सुकुटी किन्दै आएको धेरै वर्ष भयो, यस्तो कहिल्यै सुनेको थिइनँ ।’ वास्तविकता के हो ? आफूलाई थाहा नभएको बताउँदै उनले भनिन्, ‘मैले प्रायः सुकुटी किन्ने पसल अहिले बन्द भएछ । अरू पसलमा गएर किन्ने आँट आएन ।’

गएको महिना धरानमा गोरु काटेर मासु खाएको भन्दै एक भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेर प्रचार गरिएको थियो । भिडियोमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकृषि राई र केही पत्रकारहरूलाई पनि मासु खाँदै गरेको देख्न सकिन्छ ।

भोजमा जनजाति संस्कृति संरक्षणको पक्षमा लागेका अभियन्ताहरू समेत मासु खाँदै गरेको अवस्थामा देखिएका छन् । गोरु काटेको अभियोगमा पक्राउ परेका बिन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएको खुसियालीमा सो भोज गरिएको थियो । त्यसपछि धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मसम्बन्धी विभिन्न संघसंस्थाले शान्ति र्‍याली निकालेका थिए । त्यसयता धरानमा ‘गोरु काण्ड’ले उग्र रूप लिएको छ ।

गोरु काण्डले धरानमा पाइने लोकप्रिय सुकुटीको व्यवसायमा समेत असर परेको स्थानीय सूर्य कार्कीले बताए । ‘धरान हल्लाको सहर न हो, मान्छेहरू यथार्थ के हो भनेर खोज्दैनन्,’ कार्कीले भने, ‘धराने सुकुटी नेपालमा मात्रै होइन, विदेशमा पनि लोकप्रिय छ । तर, अहिले अचानक गोरुको सुकुटी भनेर प्रचार गरिँदा सुकुटीमा पनि राजनीति भइरहेको छ जस्तो लाग्छ ।’

धरानको मंगलबारेलगायत विभिन्न चोकमा वर्षौंदेखि गोप्य रूपमा गोरु काटिने गरेको छ । तर, सामाजिक सञ्जालमा गोरुको मासु खाएर गरिएको सामूहिक भोजको पोस्ट अतिवाद रहेको पूर्वउपमेयर मञ्जु भण्डारीले बताइन् । ‘धरानमा कहाँ–कहाँ गोरु काटिन्छन्, कसलाई थाहा छैन र ? घन्टाघरपछाडि रहेको गल्लीमा गोरुको सुकुटी बिक्री हुन्छ, थाहा छैन र ? छ नि त,’ उनले भनिन्, ‘कानुनद्वारा वर्जित गरिएका कुरा गर्नैहुन्न भनेर भन्न सकिएन । कानुन पालना गर्ने कुरामा कसरी भूमिका खेल्ने त्यो हामी सबैले जान्ने कुरा होला । संस्कृति संरक्षण गर्ने कुरामा पनि रोकतोक गर्ने कुरा भएन । कसैले खाने, कसैले नखाने हुँदा चोट पुग्ने कुरा हो ।’ समाज इकोसिस्टमले चल्ने भन्दै कतिपय कुराहरूलाई पूर्ण रूपमा वर्जित गर्दै जाँदा समाज चल्न गाह्रो हुने उनको भनाइ छ ।

नेपाली कांग्रेसकी नेतृ मनिता घिमिरेले १० वर्षअघिदेखि आफ्ना साथीहरूले गोरुको मासु खाएको देख्दै आएको बताइन् । उनले भनिन्, ‘म धरानमै जन्मिएको हुनाले मेरा प्रायः साथीहरू राई–लिम्बू छन् । यतिका वर्ष साथीहरूले गोरुको मासु खाएको देख्दै आएकी छु । तर यसरी सार्वजनिक रूपमा खाएर सोसल मिडियामा प्रचार गरेको चाहिँ मैले पहिलो पटक देखेँ ।’

धरानमा गोरुको सुकुटी पाउने कुरा हल्ला नभएको उनको बुझाइ छ । ‘खानेले खाइरहेकै छन्, तर सार्वजनिक रूपमा कहिल्यै अगाडि आएको थिएन,’ घिमिरेले भनिन्, ‘गोरुको सुकुटी पाउँछ रे भन्ने कुरा वर्षौंदेखि सुनिआएको हो । हावा नचली पात हल्लिएन होला ।’

गोप्य रूपमा बिक्री गर्ने गरिए पनि अहिले गोरुको सुकुटी बेच्ने कार्य न्यून भएको छ । करिब ४ महिनादेखि सुकुटी पसलमा काम गर्ने एक कर्मचारीले भने, ‘गोरुको सुकुटी स्वास्थ्यका लागि राम्रो हुन्छ । किन्नेले सोधेरै किन्छन्, हामीले पनि झुक्याएर बेचेका छैनौँ । तर, गोरु काण्ड भएदेखि अहिले बजारमा गोरुको सुकुटीको बिक्री घटेको छ ।’

धरानमा वर्षौंदेखि गोरुको सुकुटी र सुप प्रशस्त मात्रामा पाइँदै आएको छ । यसबारे सामाजिक सञ्जालमा प्रचार नगरे पनि अधिकांश स्थानीयलाई थाहा छ । विद्यार्थी नेता सागर सरगम भन्छन्, ‘मचाहिँ २०६५ सालदेखि धरानमा स्थायी बसोबास गर्दै आएको छु । मैले बुझेअनुसार धरानमा अहिले पनि हरेक दिन अन्य राँगा, सुँगुर र कुखुरासरह नै गोरु काटिन्छ, जुन कुरा धरानका अधिकांश मानिसलाई जानकारी छ र उपभोग पनि गर्छन् । पछिल्लो समय यो विषयलाई अनावश्यक रूपमा उछालिएको मात्रै हो र केही अभियन्ताले भनेजस्तो गाईचाहिँ काटेको अहिलेसम्म सुनेको छैन ।’

इलाका प्रहरी कार्यालय धरानले ४ वटा गोरु काट्दै गरेको अवस्थामा एकै पटक १० जनालाई पक्राउ गरेको रेकर्ड छ । धरानमा गोरुको मासु काटेर खाएको आरोपमा पक्राउ पर्ने र छुट्ने क्रम नयाँ नभएको प्रहरीको भनाइ छ । तर, हालसम्म व्यवसायीले ग्राहकलाई झुक्याएर गोरुको सुकुटी बिक्री गरेको उजुरी नपरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।