केटी जिस्क्याउने विषयमा विवाद हुँदा कुटेर मारे आफ्नै साथीलाई

केटी जिस्क्याउने विषयमा विवाद हुँदा कुटेर मारे आफ्नै साथीलाई


लुम्बिनी ।

स्थानीय युवाहरूबीच सामान्य विवाद हुँदा भएकाे कुटपिटमा १ युवकको मृत्यु भएको छ ।

साथीहरूको कुटपिटबाट पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

तिजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले थप विवरण खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।