रक्सी खाएर मजदुरहरूबीझ झडप, १ जनाकाे मृत्यु

रक्सी खाएर मजदुरहरूबीझ झडप, १ जनाकाे मृत्यु


बुटवल । मजुदरहरूबीच झडप हुँदा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ। घटनामा ३ जना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

तिलोत्तमा नगरपालिका–९ मा सोमबार साँझ मादक पदार्थ खाएर मजदुरहरू आपसमा झगडा गर्दा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए ।

‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरू आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको हो,’ एसपी विकले भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य ३ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन्।’

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केरवानीमा मजदुरी गर्दै आएका उनीहरू विश्वकर्मा पूजापछि साँझ मदिरा सेवनपछि झडपमा उत्रिएका थिए ।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झडपमा परी काठमाडौँ महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।